काठमाडौं- विश्व शान्ति दिवसका अवसरमा अमेरिकामा हुने शान्तिपूर्ण प्रदर्शनमा डा.गोविन्द केसी सहभागी हुने भएका छन्। नेपालको स्वास्थ्य तथा चिकित्सा शिक्षा सुधार र सुशासनका लागि लडिरहेका डा. केसी दुई दिने सत्याग्रहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्ने भएका हुन्।
विश्वमा चलेको द्वन्द र युद्धको अन्त्यका लागि अहिंसाको सन्देश दिँदै शान्ति स्थापनाका लागि ध्यानाकर्षण गराउँने उद्देश्यले उनको अगुवाईमा सेप्टेम्बर २० र २१ तारिक दिनको १ देखि ४ बजेसम्म संयुक्त राष्ट्र संघको मूख्यालय न्यु योर्कमा शान्तिपूर्ण प्रदर्शन हुने भएको छ।
शान्ति दिवशका अवसरमा हुने दुई दिने शान्तिपूर्ण प्रदर्शनलाई ‘सामूहिक सत्याग्रह’का रूपमा लिइएको छ। प्रदर्शनीमा संसारभर डरलाग्दो समस्याका रूपमा बढ्दै गरेको जलवायु परिवर्तनलगायात सबैका लागि स्वास्थ र शिक्षा तथा सबैका लागि कोभिड खोपका विषयमा विश्वका नेताहरूको ध्यानाकर्षण गराउने ध्येय रहेको डा. केसीले बताएका छन्।
हामी सबैको सामूहिक प्रयासले मात्र मानवता र हाम्रो गृहग्रह पृथ्वीलाई बस्ने ठाउँको रूपमा बचाउन सकिन्छ भन्ने सन्देश संयुक्त राष्ट्र संघको ७६औं महासभालाई दिइने उनले बताए।