सोमालियाका राष्ट्रपति मोहम्मद अब्दुल्लाह मोहम्मदले पुनर्निर्माण सम्पन्न भएको रंगशाला मंगलबार (हिजो) उद्घाटन गरे। रंगशाला ‘रंगशाला’ बन्नुअघि अल–शबाब र पछि अफ्रिकन युनियन शान्ति सेनाको क्याम्प थियो।
दुई दशकयता सोमालियाका नागरिकले उक्त रंगशालालाई अशान्ति र सेनाको क्याम्पको रुपमा देखेका थिए।
मंगलबार राष्ट्रपति मोहम्मदले मास्क र हल्का पहेँलो ट्रयाक सुट लगाएर रिवन काट्दै रंगशालाको उद्घाटन गरे। साथै उनले गोलसँग केही तस्बिर लिए। बललाई एक किक हिर्काए। त्यसपछि त्यहाँ सोमाली प्रिमियर लिगका दुई क्बलको मैत्रीपूर्ण खेल सुरु भयो। प्रतिस्पर्धा गर्नेमा मोगादिसू सिटी क्लब र हर्सिद स्पोट्र्स क्लब थिए।
सोमालियाले इटालीबाट स्वतन्त्र बनेको ६० औं वार्षिकोत्सव यसरी मनाएको छ। सोमालियाले प्रत्येक वर्ष स्वतन्त्रता दिवस जुलाई १ मा मनाउने गर्छ। देशमा अन्य महत्त्वपूर्ण कार्यक्रम रहे पनि रंगशाला पुनर्निर्माण र फुटबल सुरु गर्ने कामलाई राष्ट्रपतिले महत्त्वका साथ लिए।
सोमाली फुटबल संघ (एसएफएफ)का अध्यक्ष अब्दिक्वानी सैद अरबले रंगशालाको पुनर्निर्माण फुटबल विकासको लागि कोशेढुंगा हुने बताएका छन्।
“मोगादिसू रंगशाला अन्तर्राष्ट्रिय खेल गराउन योग्य भएको छ। ओसन स्टारले अब होम गेम आफ्नै देशमा खेलाउन सक्ने भएको छ,” अध्यक्ष अरबले गर्वका साथ भने, “हामी फिफाको सहयोगमा संघको केन्द्रीय कार्यालय पनि छिट्टै उद्घाटन गर्नेछौं।”
साथै सोमालियाको पोर्ट सहर किस्मायोमा पनि फिफा प्रोजेक्टबाट रंगशालाको निर्माण गरिँदै छ। यो वर्षको अन्त्यमा रंगशाला निर्माण भइसक्ने बताइएको छ, जुन राजधानी मोगादिसूबाट ५०० किमी टाढा छ।

सोमालिया विश्वकपमा किन छैन?
सोमालिया फिफा वरीयताको पुछारको टिम हो। असुरक्षाका कारण यसले अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नसक्ने भएकाले यसले होम गेम पनि जिबुटीमा आयोजना गरेको थियो। उसले एक वर्षअघि मात्र पहिलो पटक विश्वकप क्वालिफायरको पहिलो खेल जितेको थियो।
डिबुटीमा २०१९ सेप्टेम्बर ५ मा भएको खेलमा उसले पाहुना टोली जिम्बाबेलाई १–० को गोलअन्तरले हराएको थियो। “सोमालियाले पहिलोपटक फिफा विश्वकपको प्रिलिमिनरी क्वालिफाइनल खेल जितेर फुटबलमा नयाँ इतिहास बनाएको छ। फिफा विश्वकप २०२२ को प्रिलिमिनरी राउन्डमा जिम्बाबेलाई हराएको हो,” खेलपछि सोमाली फुटबल संघले भनेको थियो।
सो जितपछि सोमालिका राष्ट्रपति मोहम्मद अबदुल्लाह मोहम्मदले राष्ट्रिय फुटबल टोलीलाई बधाई दिएका थिए। “बधाई हो ओसन स्टार। तिमीहरुको विजय उल्लेखनीय छ। हामीले चाहेजसरी नै खेल्यौं,” मोहम्मदले ट्विटरमा लेखेका थिए।
तर, त्यसअघि जिम्बाबेको राजधानी हरारेमा भएको खेलमा ३–१ गोलअन्तरले हारेको कारण सोमालियाले समग्रमा ३–२ को झिनो अन्तरको हार बेहोरेको थियो।
सोमालियामा कोरोना महामारीका कारण तीन महिना लिग रोकिएपछि दुई हप्ता अघिबाट फुटबल सुरु भएको छ।
एजेन्सी