एजेन्सी- तान्जानियाका एक खानी मजदुरले दुई ठूला तन्जानाइट ढुंगा भेट्टाएपछि रातारात करोडपति भएका छन्।
यो बहुमूल्य ढुंगा पृथ्वीमै दुर्लभ छ। सैनिनियु लाइजरले कुल १५ किलो तौलका दुई ढुंगा वापत करिब ४१ करोड रुपैयाँ (३४ लाख अमेरिकी डलर) प्राप्त गरेका छन्।
देशको खानी मन्त्रालयले उक्त ढुंगा खरिद गरेको हो।
लाइजर सानो ढुंगा खानी सञ्चालन गर्ने मजदुर हुन् । उनको यो खोजलाई तान्जानीयाकै ठूलो खोज मानिएको छ।
एक्कासी करोडौं रुपैयाँ हात लागेपछि लाइजरले एउटा ठूलो पार्टी आयोजना गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। लाइजर ३० सन्तानका पिता हुन्।
उत्तरी तान्जानियामा मात्र पाइने तन्जानाइट पृथ्वीमा सबैभन्दा दुर्लभमध्येको रत्न हो। गहनामा प्रयोग हुने प्रख्यात पथ्थर तन्जानाइट विशेषगरी औंठी, ब्रेसलेट्स र नेकलेसमा उपयोग हुन्छ।
तान्जनाइटको आपूर्ति आगामी २० वर्षमा पूर्णरुपमा समाप्त हुने जियोलजिस्टहरु बताउँछन्।
रातो, हरियो, बैजनी र नीलो जस्ता विविध रंग यो पथ्थरको मुख्य आकर्षण हो।
लाईजरले ९.२ किलो र ५.८ किलोका दुई पथ्थर उत्खनन् गरेर निकालेका थिए। यसअघि तान्जानियामा पाइएको पथ्थर ३.३ किलोको थियो।
राष्ट्रपति जोन म्यागुफुलीले लाइजरलाई यो खोज वापत बधाई दिएका छन्।
५२ वर्षीय लाइजरका चार जना श्रीमती छन्। उनले प्राप्त रकम आफ्नो समुदायमा लगानी गर्ने योजना बनाएका छन्।
एउटा सपिङ मल र गरीब समुदायका बालबालिकालाई निशुल्क पढाउने विद्यालय बनाउने उनको इच्छा छ। बाँकी रकम उनले बढी व्यवसायिक तरिकाले खानी सञ्चालनमा लगानी गर्ने बताएका छन्।

