इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटोनमाथि ३–० गोलको सानदार जित निकालेको छ।
ब्राइटोनको फाल्मर रंगशालामा सम्पन्न खेलमा जित निकाल्दै युनाइटेडले एक स्थान सुधार गरेको छ।
जितका लागि ब्रुनो फार्नान्डेसले दुई गोल गरे भने मेसोन ग्रिनवुडले एक गोल गरे। खेलको १६ औं मिनेटमा वान विसाकाको पासलाई ग्रिनवुडले गोलमा बदलेका थिए। त्यस्तै २९ औं मिनेटमा पोग्वाले दिएको पासलाई फर्नान्डेसले पोस्टमा छिराए।
पहिलो हाफमा २ गोलको अग्रता बनाएको युनाइटेडले दोस्रो हाफमा पनि एक गोल गर्यो। ५० औं मिनेटमा ग्रिनवुडको पासमा फर्नान्डेसले नै गोल गरे।
जितसँगै युनाइटेडले अंकतालिकामा ५२ अंक बनाएको छ। च्याम्पियन्स लिगका लागि संघर्षरत क्लब पाँचौ स्थानमा छ। त्यस्तै छैटौं स्थानको वुल्भ्सको पनि समान ५२ अंक छ। युनाइटेड गोल अन्तरका आधारमा अघि छ।
यता हार बेहोरेको ब्राइटोन ३३ अंकका साथ १० औं स्थानमा छ।
ईपीएलमा आजका खेलः
बर्नेमाउथ र न्युकासल, राति पौने ११ बजे
एभर्टोन र लेस्टर सिटी, राति पौने ११ बजे
आर्सनल र नर्विच सिटी, राति पौने ११ बजे
वेस्ट हाम र चेल्सी, राति १ बजे