एजेन्सी- इङ्लिस प्रिमियर लिग, फुटबल लिग (ईएफएल) र प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) ले अश्वेत, एसियन र अल्पसंख्यक जाति समुदाय (ब्ल्याक, एसियन एण्ड माइनोरिटी एथ्निक, बेम) प्रशिक्षकको दायरा बढाउने भएको छ।
इङ्ल्यान्डका फुटबल सम्बन्धी संगठनहरुले सीमान्त समुदायका प्रशिक्षकको नियुक्तिको लागि यस्तो निर्णय गरेका हुन्।
यो निर्णयले बेम अन्तर्गतका खेलाडीलाई प्रोफेसनल प्रशिक्षणको लागि सहयोग गर्ने बताइएको छ। खेलमा यस्तो व्यवस्था आगामी वर्षदेखि सुरु हुने छ। यो प्रकृया अन्तर्गत ईएफएलको क्लबमा ६ प्रशिक्षकलाई २३ महिनाको क्याम्पमा काम गर्ने अवसर प्रदान गरिने छ।
यो क्याम्पमा पीएफएका सदस्यहरुले अपिल गर्न पाउने छन्। ‘यो समय अश्वेत, एसियन र सीमान्तकृत जातिका प्रशिक्षकका लागि महत्वपूर्ण समय हो,’ लिग वान क्लब डोनकास्टर रोभर्सका प्रशिक्षक डरेन मोरेले भने। उनी प्रिमियर लिगमा अश्वेत मानिसको उस्थितिको वकालत गर्ने समितिमा छन्।
‘प्रशिक्षक र मेनेजर विभिन्न भौगोलिकताबाट आउनुपर्ने कुरा हामी सबैलाई थाहा छ र स्वीकार गर्नुपर्छ। यसले सकारात्मकता पनि प्रदान गर्छ,’ उनले भने, ‘पहिलो टिमका लागि एकेडेमी प्रणालीमा धेरै भूमिका हुन्छन्। त्यसमा युवा कोचहरु कुनै एक सानो ठाउँबाट क्लबमा प्रवेश गर्नुपर्ने हुन्छ।’
अहिले प्रिमियर लिग र ईएफएलका ९१ प्रशिक्षकमध्ये ६ जना मात्र बेमबाट आएका प्रशिक्षक छन्।
अब ईएफएलको ‘बेम स्किम’ मा सहाभागी बन्ने प्रशिक्षकले युरोपेली फुटबल महासंघ (युईएफए) बाट कम्तीमा बी डिभिजनको लाइसेन्स प्राप्त गरेको हुनुपर्ने छ।
त्यस्तै कोचिङ लाइसेन्सप्रति प्रतिबद्ध हुनुपर्ने छ। उनीहरुले एफएको ‘एडभान्स कोर्स’ गरेका हुनुपर्ने र क्लबले अन्तर्वार्ताबाट प्रशिक्षक छनोट गर्ने प्रावधान राखिएको छ।