अनुकूल मौसम, उन्नत जातको बिउ, पर्याप्त जनशक्ति, सिँचाइ र मल धान उत्पादनका आवश्यक तत्त्व हुन्। यस पटक यी धेरै कुरा उपलब्ध रहेकाले धान उत्पादन बढ्ने विज्ञ बताउँछन्।
नेपाल कृषि अनुसन्धान परिषद्को राष्ट्रिय धानबाली कार्यक्रमका प्रमुख डा. रामवरण यादवले मौसम अनुकूल भएका कारण यस वर्ष धान उत्पादन बढ्न सक्ने बताए।
‘वर्षा पनि समयमै भएको छ। मौसम भविष्यवाणी अनुकूल भएकाले उत्पादन बढ्न सक्छ’, डा. यादवले भने।
माटोको गुणस्तर र अनुकूल वातावरण भएमा एक किलो धान उत्पादन गर्न झन्डै २५ सय लिटर पानी चाहिने डा. यादव बताउँछन्।
एक दशकको कृषिको वृद्धिदर ३.२ प्रतिशत छ। यो वर्ष पनि सोही हाराहारी वृद्धि हुने अनुमान उनको छ।
‘कृषिबाट श्रम पलायन हुँदा तथा खेतीयोग्य जमिन बाँझो बस्ने र प्लटिङ गर्ने प्रवृत्तिले कृषि क्षेत्र कमजोर हुँदै छ,’ अर्थशास्त्री प्रा. गेहेन्द्रप्रसाद दाहाल भन्छन्, ‘यद्यपि उन्नत खेती तथा प्रविधिको उपलब्धताका कारण धान उत्पादन बढेको छ।’
कोरोना भाइरस जोखिमका कारण यसपल्ट धेरै जनशक्ति गाउँठाउँमा रहेकाले रोपाइँ समयमै हुने उनको भनाइ छ।
सरकारको पछिल्लो अध्ययनअनुसार सबैभन्दा बढी धान उत्पादन प्रदेश २ मा २७ प्रतिशत र प्रदेश ५ मा २२ प्रतिशत हुन्छ। कर्णाली प्रदेशमा सबैभन्दा कम २.६ प्रतिशत धानखेती हुन्छ।
नेपालमा चामलको उपलब्धता बढे पनि वितरणमा समानता छैन। सन् १९८० को दशकमा करिब १ करोड ५० हजार जनसंख्यालाई प्रतिव्यक्ति झन्डै १ सय ७० केजी चामल उपलब्ध थियो।
सन् २०१७ मा आइपुग्दा २ करोड ९० लाख ६० हजार जनसंख्यालाई २ सय ११ केजी चामल उपलब्ध छ।
‘वितरण व्यवस्था प्रभावकारी नहुँदा सबै जनताले समान रुपमा चामल उपभोग गर्न पाएका छैनन्,’ अर्थशास्त्री प्रा. गेहेन्द्रप्रसाद दाहाल भन्छन्, ‘हामीले धान दिवस मनाइरहँदा चामलको न्यायोचित वितरणलाई पनि ध्यान दिनुपर्छ ।’
नेपाललाई वार्षिक झन्डै ६० लाख मेट्रिक टन धान आवश्यक पर्छ। गत वर्षको उत्पादन ५५ लाख ५५ हजार मेट्रिक टन थियो। नपुग धान भारतबाट आयात गरिन्छ।
कोरोनामय रोपाइँ
कोरोनाका कारण कृषि मन्त्रालयले सामाजिक दूरी राखेर रोपाइँ गर्न निर्देशन दिएको छ। नियमअनुसार २५ जनाभन्दा बढी रोपाहार र लाठे भेला हुन पाइँदैन।
रोपाइँ गर्दा दुई जना बीच ६ फिटको दूरी हुनुपर्ने, रोपाइँ गर्ने ठाउँ वरपर हात धुने साबुन, स्यानिटाइजर राख्नुपर्ने नियम छ।
संघीय सरकारले खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद् परिसरमा धान दिवसको कार्यक्रम सम्पन्न गरेको छ।
प्रदेश २ को जनकपुरमा रहेको राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम परिसरमा धान दिवसको विशेष कार्यक्रम आयोजना गर्यो।
१७ औं धान दिवस मनाइरहँदा कृषि मन्त्रालयले सलहबाट जोगिन किसानलाई रोपाइँ पछि सार्न अनुरोध गरेको छ।
कोरोना महामारीले आक्रान्त किसानलाई सलहले रोपाइँका बेला थप आतंकित बनाएको छ। कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले केही केही ठाउँमा सलह देखिएकाले रोपाइँ सार्न अनुरोध गरेको जानकारी दिए।
‘सलह कुनै पनि ठाउँमा स्थायी रुपमा बस्दैन। दुई दिनमै अन्यत्र लाग्छ,’ केसीले भने, ‘सलह गएपछि रोपाइँ गर्न अनुरोध गरिएको हो। त्यस्तै अन्यत्र पनि सलह अवस्था बुझेर मात्र रोपाइँ गर्नु उपयुक्त हुन्छ।’
मलमा सधैं गोलमाल
कोरोना महामारीका कारण मलको ढुवानीमा केही ढिलाइ भए पनि मलको हाहाकार नहुने कृषि मन्त्रालयका प्रवक्ता हरिबहादुर केसी बताउँछन्।
‘सरकारले किनेको मल ढुवानी भइरहेको छ,’ केसीले भने, ‘यो वर्ष किसानले मल नपाउने अवस्था हुन्न।’
नेपालमा वार्षिक ७ लाख मेट्रिक टन रासयनिक मल खपत हुन्छ। मागको आधा मात्रामा पनि मल उपलब्ध हुन सक्दैन। गत आवमा सरकारले ३ लाख २७ हजार ५ सय २५ मेट्रिक टन मल खरिद गरेको थियो।
सरकारले नाइट्रोजन, फस्पोरस र पोटासमा अनुदान दिन्छ। अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमा दर्ता भएका सहकारीले मात्र खरिदबिक्री गर्छन्।
कृषि सामग्री कम्पनीमा दर्ता भएका ५२ सय सहकारी डिलर तथा साल्ट टे«डिङमा दर्ता भएका २३ सय सहकारी डिलरमार्फत मल देशभरका किसानसम्म पुग्छ।
‘कृषि मन्त्रालयले प्रत्यक्ष रुपमा किसानलाई दिएको सुविधा भनेको यही मलमा अनुदान हो,’ खाद्यका लागि कृषि अभियानका उद्धव अधिकारी भन्छन्, ‘तर किसानले कहिल्यै पनि सहज रुपमा पाउन सकेका छैनन्।’