एजेन्सी– इंग्लिस प्रिमियर लिग (ईपीएल) विजेता लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले उपाधि उत्सव मनाउन उचित समय पर्खनुपर्ने बताएका छन्। उनले सबै मिलेर उत्सव मनाउन अझै केही समय कुनुपर्ने बताए।
यता बेलायत सरकारले पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण मानिसलाई भीडभाड गर्न प्रतिबन्ध लगाएको छ। तर सरकारको आदेशलाई वेवास्ता गर्दै गत शुक्रबार एनफिल्ड मैदान वरिपर ठूलो संख्यामा लिभरपुलका समर्थकको भीड लागेको थियो।
उपस्थित समर्थकले उत्सव मनाउँदा लिभरपुल भवनमा लागेको आगो फायरफाइटरले नियन्त्रणमा लिए। आगो लाग्ने क्रममा ३४ जना घाइतेसमेत भए। जसमा तीन जना गम्भीर रहको बीबीसीले जनाएको छ।
‘पियर हेडमा जे भयो, त्यो राम्रो भएन,’ क्लोपले भनेका छन्।
लिभरपुलले आफ्ना समर्थकका लागि निकालेको खुला पत्रमा लेखिएको छ, ‘म पनि एक मानव हुँ। मेरो पनि तपाईंहरुको जस्तै धेरै शौखहरु छन्। तर अहिलेको महत्वपूर्ण कुरा भनेको हामीले कहीँ भीडभाड गर्नु हुँदैन।’
‘आफ्नो समुदायमा हुन लागेको नराम्रो कामहरुप्रति हामीले बेलैमा सोच्नुपर्छ। स्वास्थ्य स्वयंसेवकले गरेको कामको पनि सराहना गर्नुपर्छ। हामीले प्रहरी र स्थानीय सरकारले भनेको मन्नु पर्छ,’ क्लोपले भनेका छन्, ‘कृपया विजय उत्सव मनाउनुस् तर सुरक्षित भएर। व्यक्तिगत ठाउँमा। जहाँ भाइरसको जोखिम एकदमै न्यून हुन्छ।’
‘यदि अवस्था सहज हुन्थ्यो भने हामीले पोहोर च्याम्पियन्स लिग जित्दा भन्दा धेरै ठूलो संख्यामा परेड गर्ने थियौँ। त्यो गर्ने इच्छा मलाई पनि थियो,’ उनले भने।
क्लबले जारी सिजनको उपाधि जितिसकेको छ। उसले यो उपाधि ३० वर्षपछि जितेको हो।