एजेन्सी – सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले पार्मामाथि २–१ गोल अन्तरको संघर्षपूर्ण जित निकालेको छ। पार्माको इनियो टादिनी रंगशालामा घरेलु टिमलाई हराउँदै इन्टरले जित निकालेको हो।
जितका लागि स्टेफन डि भ्रिज र एलेक्सेन्द्रो बोस्तोनीले गोल गरे। यता सुरुवाती अग्रता जोगाउन नसकेपछि पार्माले हार बेहोर्यो।
१५ औं मिनेटमा गेरभिन्होले गोल गर्दै पार्मालाई अग्रता दिलाए। सोही अग्रतासँगै पहिलो हाफमा घरेलु टिम एक गोलले अघि थियो। तर दोस्रो हाफको ८४ औं मिनेटमा भ्रिजले अग्रता तोड्दै खेललाई बराबरीमा ल्याए।
बराबरीको तीन मिनेट नबित्दै बास्तोनीले इन्टरलाई अग्रता दिलाइहाले।
८४ औं मिनेटमा इन्टरले गोल लगाउनुका साथै पार्माका जुराज कुका रातो कार्ड खाँदै बाहिरिएका थिए। त्यसको ९ मिनेट पहिले घरेलु टिमका टोमासो बेर्नीले पनि रातो कार्ड खाँदै बाहिरिसकेका थिए।
इन्टर खेलमा जित निकाल्दै ६१ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा कायम छ। पार्मा ३९ अंकका साथ नवौ स्थानमा छ।
गएराति नै सम्पन्न अन्य खेलमा दोस्रो स्थानको लाजियोले घरेलु मैदानमा फियोरेन्टिनालाई २–१ गोलले हराएको छ। त्यस्तै मिलानले पाहुना टोली रोमालाई २–० ले हराउँदा अर्को खेलमा नेपोलीले पनि पाहुना टोली स्पललाई ३–१ गोल अन्तरले हराएको छ।
त्यस्तै साम्प्दोरियाले बोलाग्नासँग २–१ गोलले हार बेहोर्दा घरेलु टिम उडिनेस एटलान्टासँग ३–२ गोल अन्तरले पछि पर्यो। यता ससउलोले भने भरोनासँग ३–३ गोलको बराबरी खेलको छ।
सिरी ए अन्तर्गत आज कुनै खेल छैन। भोली राति भने लाजियोल टोरिनसँग प्रतिस्पर्धा गर्ने छ।