काठमाडौं– मलेसियामा हुने ओपन अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो स्पोर्टस् च्यालेन्ज र अमेरिका हुने एक प्रतियोगितामा नेपाली तेक्वान्दो खेलाडीले भाग लिने भएका छन्।
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) अन्तर्गतका खेलाडीले दुई अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो प्रतियोगितामा भाग लिने भएका हुन्।
दुवै प्रतियोगिता पुम्से विधामा हुनेछ।
जुलाई ७ देखि १० तारिखसम्म हुने प्रथम मलेसिया ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो स्पोर्ट्स च्यालेन्जमा ७ खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन्।
प्रवीण श्रेष्ठले ९ वर्षमुनि, भिजन तामाङले ११ वर्षमुनि, प्रगति कुइकेलले १४ वर्षमुनि, अस्मिता नगरकोटीले १७ वर्षमुनि, चन्दु शाही र पुष्पप्रसाद गौतमले ३९ वर्षमुनि तथा मधुसुधन सापकोटाले ४० वर्षमाथि स्पर्धामा खेल्ने छन्।
त्यस्तै, अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीको आयोजनामा हुने आईओएफटीसी लकडाउन कोभिड–१९ अनलाइन भिडियो च्याम्पियनसिपमा ५ खेलाडीले सहभागिता जनाउने छन्।
मेलिना राई र प्रगति कुइकेलले १२–१४ वर्ष, अस्मिता नगरकोटीले १५–१७ वर्ष, चन्दु शाही र पुष्पप्रसाद गौतमले १८–३० वर्ष र मधुसुधन सापकोटाले ४१–५० वर्ष उमेर समूहमा आफ्नो कौशल प्रदर्शन गर्ने छन्। प्रतियोगिता जुलाई १२ देखि १८ तारिखसम्म हुने छ।
खेलाडीलाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा, नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी र समाजसेवी अमरचन्द्र बोहरालगायतले शुभकामना दिएका छन्।
मेयर थापाले पदक विजेता खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। दुवै प्रतियोगितामा खड्काले निर्णायकको भूमिका निर्वाह गर्ने छन्।