काठमाडौं– अधिकांश मानिस आफ्नो प्रशंसा होस् भन्ने चाहन्छन्। त्यसैले मान्छेलाई सबै कुराले पुगे पनि प्रशंसाले कहिल्यै पनि अघाउँदैन। सामाजिक सञ्जालले राज गरेको अहिलेको समयमा त मान्छेले चर्चित हुनकै लागि अनेक हर्कत गर्दै आएका छन्। समाजमा यस्ता मान्छे पनि छन् जो आफ्नो काममा निरन्तर लागिरहेका हुन्छन् तर आफू भने गुचचुप रहन रुचाउँछन्।
अमेरिकाका लेखक जेडी स्यालिन्जर हुन् वा नेपाली कलाकार एवम् साहित्यकार मनुजबाबु मिश्र चर्चामा आउन चाहेनन्। त्यस्तै संगीत स्रष्टा बच्चु कैलाश हुन् वा लोकगायिका विष्णु माझी आफ्नो काम गरिरहेका छन् तर चर्चामा आउन चाहेका छैनन्।
गुफावासी मनुजबाबु
कलाकार मनुजबाबु मिश्रले जीवनको उत्तराद्र्धमा एकान्तवासमै बिताए। कलाकार मिश्रले प्रजातन्त्र पुनर्बहाली भएपछिका वर्षदेखि गुप्तवास सुरु गरेका थिए। चित्र बनाउने बुबाबाट आफू प्रभावित रहेको बताउने कुशल निबन्धकार मिश्रले झन्डै ४० वर्ष एकान्तवासमा बिताए। उनले एकान्तवासमै अनेकन् कलाकृति बनाए, पुस्तक लेखे।
बाहिरी दुनियाँबाट टाढै रहने उनी झ्यालखानाजस्तै थुनिएरै बस्थे भन्ने पनि होइन। बिरामी हुँदा वा त्यस्तै अप्ठेरो परिस्थितिमा घरबाहिर जान्थे। तर साहै्र कम। नत्र उनी बौद्ध महांकालको घरबारीको छेउमा आफैंले बनाएको सानो टहरोमै सिर्जनाकर्ममा व्यस्त हुन्थे। उनी भन्थे, ‘निष्क्रिय हुनु हुँदैन केही न केही गरिरहनुपर्छ।’
‘स्वप्न सम्मेलन’ उपन्यासका सर्जक मिश्र आफ्ना साथीसंगाती, विद्यार्थी तथा पत्रकारलाई त्यही कटेरोमा स्वागत गर्थे र कला सिर्जनाको कुरा गर्न पाउँदा रमाउँथे।
उनी आफूलाई बहुदलीय व्यवस्था चित्त नबुझेकाले एकान्तवास रोजेको बताउँथे। एक्लै बसेर गर्न सकिने काम समूहमा गर्न नसकिने तर्क उनको हुन्थ्यो। मिश्रको २०७५ साउन २३ गते ८३ वर्षको उमेरमा निधन भयो।
गुप्तवासमा बच्चुकैलाश
मिश्रजस्तै गुपचुच जीवन बिताउन रुचाउने गायक हुन्, बच्चुकैलाश। बच्चुकैलाशका थुप्रै कालजयी गीत छन्। गोरखापत्र र रेडियोमा सरकरी संस्था रेडियो नेपाल मात्र भएका बेलामा वच्चुकैलाश घरमा साथीभाइ जमघट गरेर रमाइलो गर्थे। उनका अतिथिमा नातिकाजी, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, पुष्प नेपाली, रुबी जोशीलगायत हुन्थे।
रेडियो नेपालमा हिट गीत गाए पनि उनी सार्वजनिक जीवनबाट टाढै बसे। आफूलाई भेट्न चाहने फ्यानहरूलाई घरमै बोलाउँथे र कुराकानी गर्थे उनी।
एकपटक दुई जना मानिस आफूलाई उनको फ्यान बताउँदै उनको घर गए। कुराकानी गरे। फोटो खिचे। तिनले बच्चुकैलाशको कभरस्टोरी लेखेर एउटा म्यागेजिनमा छपाए। त्यसपछि त बच्चुकैलाशले फ्यानहरुलाई पनि भेट्नै छोडिदिए। पछि त्यो पत्रिका बन्द भयो। लेख्ने मान्छे पनि पलायन भए। यद्यपि सांगीतिक दुनियाँका आफ्ना पुराना मित्र तथा नयाँ प्रतिभालाई भने उनी भेट्थे।
अब त उनले गीत गाउन छाडेको पनि तीन दशक भइसकेको छ। उनले २०४७ सालमा ‘फूल टिपेर मायाको...’ बोलको गीत गाएपछि उनले कुनै गीत रेकर्ड गराएका छैनन्।
अब त उनले गीत गाउन छाडेको पनि तीन दशक भइसकेको छ। उनले २०४७ सालमा ‘फूल टिपेर मायाको...’ बोलको गीत गाएपछि उनले कुनै गीत रेकर्ड गराएका छैनन्।
उनी आफ्ना पुराना गीतलाई नयाँ ढंगबाट गाउन पनि दिँदैनन्। कसैले त्यस्तो प्रस्ताव गरे अस्वीकार गर्छन्। आफ्ना गीतलाई जस्तो छन् त्यस्तै रुपमा रहन दिनुपर्ने उनको तर्क हुन्छ। एक आफन्तको अन्त्येष्टिमा जाँदा सञ्चारमाध्यमले तस्बिर खिच्ला भन्ने डरले उनले परैबाट श्रद्धाञ्जलि दिएर फर्किएका थिए।
विष्णु माझी
अहिले गायिक विष्णु माझी चर्चामा छिन्। उनको ‘चरी जेलैमा...’ बोलको गीत चर्चित छ। गीतको चर्चासँगै उनको खोजी हुन थाल्यो। धेरै दर्शक–श्रोताले यो गीत माझीकै जीवनसँग मेल खाएको प्रतिक्रिया दिए।
उनका शुभचिन्तकले उनलाई देखेका छैनन् तर निरन्तर सुनिरहेका छन्। आफूले सुनिरहेको कलाकारको जीवनशैलीबारे थाहा पाउने रहर प्रशंसकलाई हुनु स्वाभाविकै हो। उनका नयाँ नयाँ गीत बर्सेनि आइरहेका हुन्छन्। चर्चित पनि बनिरहेका हुन्छन् तर उनी मिडियामा आउँदिनन्।
तीन वर्षअघि उनका बुबाले बोलेको आधारमा समाचार आयो। समाचारमा उनले छोरी भेट्न नपाएको, ज्वाइँले छोरीलाई थुनेर राखेको कुरा आयो। त्यसको केही दिनमा उनी बुवालाई भेट्न गइन्।
सामाजिक सञ्जालमा भने कहाँ छिन् विष्णु माझी भनेर सनसनीपूर्ण सामग्री आइरहे। अहिले उनको गीन चर्चित भएपछि उनलाई भेट्न चाहनेहरुको लर्को लागेको छ।
मिडियामा आउने कि नआउने भन्ने मान्छेको व्यक्तिगत स्वतन्त्रताको कुरा हो। मान्छेले आफूलाई सार्वजनिक गर्न नपाउने अधिकार अन्तर्राष्ट्रिय कानुनले प्रत्याभूत गरेको छ।
‘मिडियाले यो व्यक्ति हरायो, लुक्यो, यसको बारेमा हामीलाई केही भनिएन भन्ने दलिल गर्नु कानुनसम्मत छैन,’ अधिवक्ता भट्टराई भन्छन्, ‘कसैलाई दबाब दिएर व्यक्तिगत जीवन सार्वजनिक गर्नु गोपनीयताको हकविरुद्ध हुन्छ। त्यस्तो व्यक्तिले मेरो व्यक्तिगत जीवनमाथि दबाब पर्यो भनेर संविधानको धारा २८ अन्तर्गतका अधिकार प्रत्याभूत गरिपाऊँ भनेर रिटमै जान सक्छन्।’
‘यस प्रावधानअनुसार त व्यक्तिले मिडियालाई भन्ने कुरा त परै रह्यो सरकारलाई निश्चित व्यक्तिबाट सूचना चाहिएको अवस्थामा पनि कानुनबमोजिम मात्रै भन्ने भयो अन्यथा भन्न बाध्य रहेन,’ अधिवक्ता भट्टराई भन्छन्।
कसैले कुनै काम गर्छ र त्यो काम अधिकांश मान्छेले मन पराएर उनका काम जान्न चाहे भन्दैमा उसले आफ्नो बारेमा सबैलाई भन्नुपर्छ भन्ने कानुनी बाध्यता नरहेको उनको तर्क छ। ‘मिडियाले यो व्यक्ति हरायो, लुक्यो, यसको बारेमा हामीलाई केही भनिएन भन्ने दलिल गर्नु कानुनसम्मत छैन,’ अधिवक्ता भट्टराई भन्छन्, ‘कसैलाई दबाब दिएर व्यक्तिगत जीवन सार्वजनिक गर्नु गोपनीयताको हकविरुद्ध हुन्छ। त्यस्तो व्यक्तिले मेरो व्यक्तिगत जीवनमाथि दबाब पर्यो भनेर संविधानको धारा २८ अन्तर्गतका अधिकार प्रत्याभूत गरिपाऊँ भनेर रिटमै जान सक्छन्।’