काठमाडौं– चलचित्रकर्मीहरुले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर चलचित्र क्षेत्रको अवस्थाबारे जानकारी गराएका छन्। उनीहरुले प्रचण्ड निवास खुमलटारमा भेटेर चलचित्र क्षेत्रको समस्याको बारेमा जानकारी दिँदै सहयोग गरिदिन आग्रह गरेका हुन्।
चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधान, चलचित्र संघका महासचिव अशोक शर्मा, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालगायतको टोलीले प्रचण्डलाई विभिन्न माग राख्दै ज्ञापनपत्र समेत बुझाएको छ।
चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चलचित्र उद्योगलाई चलायमान बनाउनुका साथै कला–संस्कृति एवम् भाषालाई जोगाउन अनुरोध गर्दै सम्माननीय पूर्वप्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट।’
चलचित्रकर्मीका कुरा माग सुनेपछि प्रचण्डले चलचित्र क्षेत्रलाई उकास्न प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा राख्ने आश्वासन दिएका छन्।
‘कोभिड–१९ का कारण चलचित्र क्षेत्र धराशायी अवस्थामा छ। यस्तो विषम परिस्थितिमा चलचित्र क्षेत्रलाई राहत तथा कर मिनाहाका लागि अनुरोध गरेका हौं। उहाँ (प्रचण्ड)ले सकारात्मक रुपमा लिइदिनु भएको छ,’ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले नेपाल समयसँग भने।
चलचित्र संघका महासचिव अशोक शर्माका अनुसार प्रचण्डले सिनेमा क्षेत्रलाई उकास्न प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रीसँग भेटी कुरा राख्ने आश्वासन दिएका छन्। शर्माले भने, ‘यो बजेटमा चलचित्र क्षेत्र अटाएन। तर चलचित्र क्षेत्रको अवस्था दयनीय छ। अब हामी सबै राजनीतिकका दलका नेतासँग भेटेर अगाडि बढ्ने हो। त्यही क्रममा पहिलोपटक प्रचण्डलाई भेटेको हो।’