विराटनगर–शैक्षिक सूचना प्रणालीलाई सुदृढीकरण गरी इन्टरनेट सेवाको पहुँचमा सवै विद्यालयलाई जोड्ने प्रदेश १ सरकारको नीति छ।
स्मार्ट विद्यालय निर्माणमा पूर्वाधार विकास, सूचना प्रविधि शिक्षा, डिजिटल साक्षरता, पूर्वविद्यार्थी समाज गठन तथा परिचालन, मितेरी कार्यक्रम सञ्चालन, सिकाइ सूचना व्यवस्थापन प्रणालीको विकासका लागि प्रदेश सरकारले आगामी वर्ष १६ करोड विनियोजन गरेको छ।
प्रदेश सरकारले गत वर्षदेखि प्रविधिमैत्री विद्यालय निर्माण अभियान सुरु गरेको हो। अहिलेसम्म प्रदेशका ४ सय बढी विद्यालयलाई प्रविधिसँग जोडिएको छ।
प्रदेश सरकारले सामुदायिक विद्यालयका शिक्षकलाई प्रविधिमैत्री बनाउने अभियान पनि तीव्र पारेको छ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले सामुदायिक विद्यालयका शिक्षक प्रविधिमा सबल बन्दै गएको बताए।
सामुदायिक विद्यालय भन्नेबित्तिकै अंग्रेजी र प्रविधिमा कमजोर हुन्छन् भन्ने बुझाइलाई शिक्षकहरुले गतिलो जवाफ दिएको मन्त्री घिमिरेको भनाइ छ।
प्रदेश सरकारले लकडाउन अवधिमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालिम दिएको छ। २ महिने तालिम सम्पन्न भएपछि सोमबार सामुदायिक विद्यालयका शिक्षकले मन्त्री घिमिरेको उपस्थितिमा अनलाइन परियोजना प्रस्तुति गरेका छन्। मन्त्री घिमिरेले लकडाउन अवधिमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न शिक्षकलाई सुझाव दिए।
सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले प्रदेश १ को शिक्षाको गुणस्तर बृद्धिमा सूचना प्रविधि तालिमले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए। मन्त्रालयले इक्वालिटी फाउन्डेसनसँगको सहकार्यमा प्रविधिमैत्री विद्यालय निर्माण अभियान सुरु गरेको हो।
फाउन्डेसन अमेरिकाका कार्यकारी निर्देशक मेदनी अधिकारीले प्रविधिमैत्री विद्यालय निर्माण अभियान अन्य प्रदेशमा पनि सुुरु गर्नुपर्ने बताए ।
सामाजिक विकास मन्त्रालयले विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधारका लागि प्रविधिमैत्री शिक्षक समाजसँगको सहकार्यमा प्रदेश १ का ६ सय शिक्षकलाई सूचना प्रविधिसम्बन्धी अनलाइन शिक्षक तालिम सञ्चालन गरेको थियो।