काबुल– तालिबानले अफगानिस्तनकब्जा गरेको बुधबार एक महिना पूरा भएको छ। अफगानी राष्ट्रपति असरफ गनीले देश छोडेपछि अगस्ट १५ मा तालिबानले अफगानिस्तान कब्जा गरेको घोषणा गरेको थियो।
अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा विभिन्न प्रान्तहरुमा आक्रमण गर्न सुरु गरेका तालिबान लडाकुलाई राजधानी काबुल कब्जा गर्न निकै संघर्ष गर्नुपर्ने अपेक्षा गरिएको थियो। तर, अमेरिकी सेना फिर्ता भएको केही दिनमा नै तालिबानले सजिलै राजधानी काबुलसहित पूरा अफगानिस्तान कब्जा गरेको घोषणा गर्यो। अहिले तालिबानले सरकार गठन गरिसकेको छ। तर, सरकार गठनमा तालिबान समूहभित्रै विवाद सिर्जना भएको छ। तालिबानी नेता अब्दुल गनी बरादरले राजधानी काबुल छोडेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।
केके भयो एक महिनामा?
१५ अगस्ट
तालिबान लडाकु राजधानी काबुल प्रवेश गरे र पूरा काबुल कब्जा गरे। तालिबानले घेराबन्दी गर्न लागेको सूचना प्राप्त हुनासाथ राष्ट्रपति असरफ गनीले देश छोडे। राष्ट्रपतिले देश छोडेसँगै अफगानिस्तान छोड्न चाहने विदेशीहरु पनि काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा जम्मा हुन थाले। यस भीडभाडमा परेर कैयौंको ज्यान गयो भने कैयौं घाइते भए। तालिबान समूहले आफूले अफगानिस्तान कब्जा गरेको घोषणा गर्यो।
१७ अगस्ट
अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तनबाट अमेरिकी सेना फिर्ता लिने विषयमा आफ्नो मौनता तोडे। उनले अमेरिकी सेना तोकिएको समयमसीमा भित्रै फिर्ता हुने बाइडेनले बताएपछि तालिबान समूहलाई आफ्नो सत्ता सञ्चालनका लागि थप सहजता मिल्यो। तालिबान शासनपछि अफगानिस्तान छोड्ने मानिसहरुको भीड, विमान चढ्न चाहनेहरुको हुल र त्यहाँको दर्दनाक दृश्यले विश्वभर दयाभाव जगायो। यस्तो दृश्यपछि अमेरिकाको अफगानिस्तान नीतिको आलोचना पनि भयो।
तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले पहिलो पत्रकार सम्मेलन गर्दै आफ्नो यसपटकको शासन पहिलेभन्दा फरक हुने र महिला अधिकारलाई सम्मान गर्ने बताएका थिए। उनले अफगानिस्तानमा प्रेस स्वतन्त्रता सुनिश्चितताको पनि प्रतिबद्धता व्यक्त गरेका थिए।
१८ अगस्ट
अफगानिस्तानको पूर्वी सहर जलालाबादमा तालिबानविरुद्ध प्रदर्शनहरु भए। उक्त प्रदर्शनमा तालिबान लडाकुले गोली चलाउँदा केही व्यक्तिहरुको मृत्युसमेत भएको थियो।
१९ अगस्ट
काबुल हवाई अड्डामा अफगानिस्तान छोड्न चाहनेहरुको भीड जारी थियो। यहीबीच तालिबान लडाकुले फायरिङ गरेपछि भागदौड मच्चियो। तालिबानी आश्वासनका बीच पनि विदेशी सहायता संस्थाहरुलाई दुःख दिन तालिबानले छोडेनन्। असदाबाद र काबुलमा पनि तालिबानविरुद्ध प्रदर्शनहरु भए।
२१ अगस्ट
तालिबानले आफ्ना लडाकुले गरेको अत्याचारको अनुसन्धान गर्ने प्रतिबद्धता जनायो। तालिबानले फेरि आश्वासन दियो कि उसले मानवअधिकार र महिला अधिकारको रक्षा गर्नेछ। तालिबानले हवाई अड्डाको अव्यवस्था आफ्नो कारणले नभएको पनि स्पष्ट पार्यो। तालिबानले प्रमाण भएका र अफगानिस्तन छोड्न चाहनेहरुलाई सुरक्षित रुपमा जान दिनेसमेत प्रतिबद्धता व्यक्त गर्यो।
२३ अगस्ट
अफगानिस्तानमा तालिबान शासन सुरु भएसँगै विदेशी सहायता कटौती भएको थियो। मुलुकमा आर्थिक संकट चलिरहेको समयमा हाजी मोहम्मद इदरिसलाई केन्द्रीय बैंकको कार्यवाहक गभर्नर घोषणा गरियो।
२४ अगस्ट
विश्व खाद्य कार्यक्रमले सुख्खा मौसमका कारण अफगानिस्तानमा लाखौं मानिसहरु भोकको चपेटामा पर्नसक्ने भन्दै एक प्रतिवेदन सार्वजनिक गर्यो। जसमा ९० प्रतिशत मानिसहरु भोकमरीको चपेटामा पर्ने उल्लेख गरिएको थियो।
२६ अगस्ट
काबुल हवाई अड्डामा आत्मघाती हमला भयो, जसमा १३ अमेरिकी सेनासहित करिब एक सय मानिसको मृत्यु भयो। उक्त हमलाको जिम्मेवारी इस्लामिक स्टेटको एक स्थानीय शाखा खोरासनले लियो।
२७ अगस्ट
अमेरिकाले काबुलमा ड्रोन आक्रमण गर्यो।
२९ अगस्ट
अमेरिकाले एक संदिग्ध आत्मघाती हमलावारलाई निशाना बनाएर उक्त ड्रोन आक्रमण गरेको जनायो। काबुल हवाई अड्डामा आक्रमण गर्ने तयारी गरिरहेको एक आत्मघाती हमलावारलाई निशाना बनाएर उक्त ड्रोन आक्रमण गरेको भन्दै अमेरिकी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरेको थियो। आक्रमणमा केही सर्वसाधारण पनि मारिएपछि तालिबानले अमरिकाको निन्दा गर्यो।
३० अगस्ट
यूएस सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्र्यांक मेकेन्जीले २० वर्षसम्म जारी युद्ध समाप्त गर्दै अमेरिकी सेना पूर्णरुपमा फिर्ता भएको घोषणा गरे। अमेरिकाको उक्त घोषणापछि तालिबानले खुसीयाली मनायो।
३१ अगस्ट
अमेरिकी सेना पनि पूर्णरुपमा फिर्ता भएसँगै अफगानिस्तान छोड्नेहरुको संख्या फेरि बढ्न थाल्यो। विमानस्थल, बैंकहरु बाहिर ठूलो भिडभाड देखिन थाल्यो।
३ सेप्टेम्बर
तालिबानले उत्तरी क्षेत्रमा रहेको उपत्यका पञ्जशीरमा पनि आफूले कब्जा गरेको घोषणा गर्यो। तर, पञ्जशीरका लडाकुहरुले भने संघर्ष जारी रहेको प्रतिक्रिया दिए।
४ सेप्टेम्बर
केही दिनका लागि बन्द रहेको काबुल हवाई अड्डा सहायता उडान र आन्तरिक सेवाका लागि फेरि सुरु गरियो।
७ सेप्टेम्बर
तालिबानले आफ्नो नयाँ अन्तरिम सरकारको घोषणा गर्यो। यससँगै तालिबानले सरकार नै गठन गर्न नसक्ने भन्दै गरिएका विभिन्न अड्कलबाजीहरुको श्रृंखला रोकियो। मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा गठन भएको सरकारको उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादर बने।
९ सेप्टेम्बर
तालिबान सरकार गठन भएसँगै पहिलो अन्तर्राष्ट्रिय कमर्सियल उडान भयो। १०० भन्दा बढी विदेशीहरुलाई लिएर काबुलबाट विमान उडेको थियो।
१३ सेप्टेम्बर
विश्वका केही मुलुकहरुले अफगानिस्तानलाई करिब एक अर्ब अमेरिकी डलर सहायता गर्ने घोषणा गरे।
१४ सेप्टेम्बर
तालिबान सरकार समावेशी नभएको, महिला अधिकारको रक्षा नगरेको भन्दै कान्धाहार प्रान्तमा बृहत् विरोध प्रदर्शन भयो।
- बीबीसी रिपोर्टहरुमा आधारित