विराटनगर– प्रदेश १ मा कोरोना भाइरसको प्रकोपबाट अत्यधिक प्रभावित झापाका विभिन्न क्वारेन्टिनमा रहेका स्थानीयले पीसीआर परीक्षण चाँडो गरेर घर जान दिन आग्रह गरेका छन्। खेतीपातीको काम गर्नुपर्ने समयमा क्वारेन्टिनमा कोचिएर बस्नुपरेको पीडा उनीहरुलाई छ।
कचनकवल–६ स्थित लक्ष्मी माविको क्वारेन्टिनमा रहेकाहरुले परीक्षण ढिलो हुँदा घर जान नपाएको गुनासो गरे । क्वारेन्टिनमा बसेको २७ दिनसम्म पनि परीक्षण नभएकोमा उनीहरुको असन्तुष्टि छ।
भारतबाट नेपाल प्रवेश गरेलगत्तै उनीहरुलाई क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा बसेदेखि उनीहरुको एक पटक पनि परीक्षण भएको छैन। उक्त क्वारेन्टिनमा ४४ जना छन् ।
कचनकवलकै महेन्द्ररत्न मावि क्वारेन्टिनमा रहेकाहरुले भने क्वारेन्टिन व्यवस्थित हुन नसकेको गुनासो गरेका छन्। सो क्वारेन्टिनबाट सबैभन्दा बढी संक्रमित भेटिएका थिए । ९९ जनामा गरिएको परीक्षणमा ५८ जनामा पोजेटिभ रिपोर्ट आएको गाउँपालिका प्रमुख अञ्जरा आलमले बताए । महेन्द्र रत्नमा अहिले ११ जना छन् ।
झापाको भद्रपुर–२ स्थित हिमाली मावि क्वारेन्टिनमा रहेकाहरुको पनि उही गुनासो छ । ‘परीक्षण ढिलो हुँदा घर जान पाइएन । घरमा काम गर्ने अरु छैनन्, बालबच्चा भोकै भए,’ क्वारेन्टिनमा रहेका एक युवाले भने।
सो क्वारेन्टिन भने केही व्यवस्थित छ। महिला र पुरुषका लागि फरक फरक ब्लक छन्। हिमाली माविमा १८ जना पुरुष र १५ जना महिला रहेको भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले बताए । परीक्षणमा ढिलाइ हुँदा र रिपोर्ट समयमा नआउँदा धेरै दिन होल्ड गर्नुपरेको श्रेष्ठको भनाइ छ ।
झापाका १५ मध्ये १४ वटा गाउँपालिकामा कोरोना संक्रमण देखिएको छ । कचनकवलमा १२८ जना संक्रमित भएका छन् । अन्य स्थानीय तहहरुमा १ देखि ७ जनासम्ममा संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका प्रमुख इश्वरी पौडेलले बताए ।
उनका अनुसार झापामा १८० जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लामा ४ हजार २४१ जनाको पीसीआर परीक्षण गरिएको पौडेलले बताए । परीक्षण गरिएका मध्ये ३ सयको रिपोर्ट आउन बाँकी नै छ।
झापामा अधिकांश भारतबाट आएकाहरुमा संक्रमण देखिएको प्रहरीले बताएको छ । अहिले भारतबाट आउने क्रम घटेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले बताए । उनका अनुसार अहिले झापाका विभिन्न नाकाबाट दैनिक बढीमा २ सय जना नेपाल प्रवेश गर्ने गरेका छन् ।
झापामा समुदाय स्तरमा कोरोना संक्रमण नदेखिएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । क्वारेन्टिनमा रहेकाहरुको छिटो परीक्षण गर्न उनले प्रदेश सरकारसँग आग्रह गरेका छन्। रानाले भने, ‘परीक्षण ढिलो हुँदा क्वारेन्टिनमा अनावश्यक खर्च बढेर गयो ।’ परीक्षणको दायरा बढाएर भए पनि छिटो परीक्षण गर्नुपर्ने उनको भनाइ छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोरोना परीक्षणको दर बढाएको बताए । प्रदेश १ का तीन स्थानबाट दैनिक एक हजारको हाराहारीमा परीक्षण हुने गरेको उनले जानकारी दिए ।
झापाको मेची अस्पतालमा कोरोना परीक्षण ल्याब स्थापना गर्ने तयारी भइरहेको उनको भनाइ छ । मन्त्री घिमिरेले अहिले समुदाय स्तमा कोरोना संक्रमण फैलिनसकेकाले चाँडै नियन्त्रणमा आउने दाबी गरे । उनले भने, ‘अहिलेसम्म देखिएको संक्रमण धेरै क्वारेन्टिनमा रहेकाहरुको छ ।’
क्वारेन्टिनमा रहेकाहरुलाई अनुशासन पालना गर्न र व्यवस्थित क्वारेन्टिन निर्माण गर्न स्थानीय तहहरुलाई निर्देशन दिइएको मन्त्री घिमिरेले बताए । केही स्थानीय तहले निर्माण गरेका मापदण्ड विपरीतका क्वारेन्टिन तत्काल बन्द गर्न निर्देशन दिइसकिएको मन्त्री घिमिरेले बताए ।
बुधबार प्रदेश १ मा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। झापा, मोरङ र उदयपुरमा संक्रमित थपिएका हुन्। मोरङको रतुवामाई नगरपालिकामा ९ जना, झापाको झापा गाउँपालिकामा १ जना र उदयपुरको त्रियुगा नगरपालिकामा ४ जनामा कोरोना संक्रमण देखिएको हो।
प्रदेश १ मा हालसम्म ४१६ जनामा कोरोना संक्रमण देखिएकोमा १८४ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने बाँकी आइसोलेसनमा छन्। संक्रमितहरुको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेज गोठगाउँमा उपचार भइरहेको छ।