काठमाडौं- नेपालीहरुको सबैभन्दा ठूलो चाड दसैं नजिकिँदै गएपछि अग्रिम टिकट बुकिङ खुलाउनेबारे सरकारी निकाय र यातायात व्यवसायी छलफलमा जुटेका छन्।
कोरोना संक्रमण कम भएको र यातायात पूर्ण रुपमा खुलिसकेको अवस्थामा दसैं मान्न काठमाडौं छाडेर आफ्नो थातथलो जानेहरुका लागि सहज रुपमा सेवा दिन अग्रिम टिकट बुकिङका लागि छलफल भएको हो।
यातायात व्यवस्था विभागले असोज दोस्रो साताबाट अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ। यसमा यातायात व्यवसायी सकारात्मक रहेको र अर्को छलफलबाट निर्णय लिइने विभागले जनाएको छ। कोभिडको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गरेर भीडभाड नगरी कसरी सहज रुपमा दसैंको यातायात व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा सरकारी अधिकारी र व्यवसायीबीच छलफल भएको थियो।
काउन्टरमा भीड कम गराउन टिकट अनलाइन बुक गर्ने व्यवस्था मिलाइने विभागले जनाएको छ। त्यसैगरी सिट क्षमताभन्दा बढी यात्रु बोक्न निषेध गरिनेछ।
सामान्यतयाः घटस्थापनापछि उपत्यकाबाट मानिसहरु बाहिरिन थाल्छन्। यसपालि घटस्थापना असोज २१ गते परेको छ। २६ गते फूलपाती छ भने २९ गते विजयादशमी।