काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले भिसा समस्याका कारण नेपाल–बेलायत आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उल्लेख गर्दै सहज र सुलभ बनाउन आग्रह गरेका छन्। बेलायतले नेपाली व्यवसायीलाई सहज र सरलरूपमा भिसा उपलब्ध गराए द्विपक्षीय व्यापारमा गुणात्मक वृद्धि हुने उनको भनाइ छ।
महासङ्घले काठमाडौँस्थित बेलायती दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागसँगको सहकार्यमा आयोजना गरेको ‘बेलायत भिसा र अध्यागमन’ विषयक भर्चुअल अन्तरक्रियामा उनले काठमाडौँस्थित बेलायती दूतावासबाटै निजी क्षेत्रका लागि यूके भिसा उपलब्ध गराउनुपर्ने आवश्यकतामा जोड दिए।
'बेलायती भिसा हाल नेपालबाट प्रत्यक्ष उपलब्ध छैन, जसका कारण यहाँका भिसा आवेदकहरुलाई धेरै कठिनाइ र समस्याको सामना गर्नुपरिरहेको छ,' वरिष्ठ उपाध्यक्ष ढकालले भने, 'यसरी हामी सरोकारवालाबीचको छलफलमा यो व्यवस्थाबाट उत्पन्न समस्यासँगै समाधानको खोजी हुनेछ भन्ने मेरो विश्वास छ र नेपाली आवेदकहरुका लागि पक्कै पनि सहज र सरलरूपमा भिसा उपलब्ध हुनेछ।'
नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए। नेपाल र बेलायत दुवै मुलुकले आर्थिक सम्भावनाको पूर्ण क्षमताको अनुभूति गर्न नसकेको उनको भनाइ छ। सो अवसरमा ढकालले व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्याङ्क पेस गर्दै नेपालको वैदेशिक व्यापारमा बेलायततर्फ निकासीको हिस्सा १.७ प्रतिशत र आयातमा बेलायतको हिस्सा ०.१६ प्रतिशत मात्र रहेको जानकारी दिए।
नेपाल र बेलायतबीच रहेको दुई शताब्दी पुरानो द्विपक्षीय सम्बन्धलाई अबका दिनमा निजी क्षेत्रमार्फत उचाइमा पुर्याउन सकिने उनको विश्वास छ। नेपाल र बेलायतबीच निजी क्षेत्रको सहयोगको माध्यमबाट बलियो आर्थिक र व्यापार सम्बन्ध रहेको स्मरण गराउँदै उनले यसका लागि महासङ्घसहित ‘नेपाल–बेलायत उद्योग वाणिज्य सङ्घ’ले काम गरिरहेको जानकारी दिए।