काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १२ देखि १८ वर्ष उमेर समूहका लागि पनि कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन्।
विश्व स्वास्थ्य संगठन क्षेत्रीय समितिको वार्षिक बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सो उमेर समूहका लागि फाइजर र मोडेर्नाको खोप ल्याउने प्रक्रियामा रहेको जानकारी दिए।
उनका अनुसार ४० लाख डोज मोडेर्ना र ६० लाख डोज फाइजर गरी एक करोड डोज खोप आयातको क्रममा छ। मोडेर्नाको भुक्तानी भइसकेको र फाइजरको प्रक्रियामा रहेको उनले जनाए। दुवै खोप अमेरिकी हुन् र पहिलो पटक नेपालले आयात गर्न लागेको हो। अहिले यहाँ कोभिशिल्ड, एस्ट्राजेनेका, भेरोसेल र जोनसन एन्ड जोनसनको खोप प्रयोग भइरहेको छ।
अहिलेसम्म कोभिड खोप लगाउनुपर्ने कुल जनसंख्याको १६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको मन्त्रालयले जनाएको छ। असोज अन्त्यसम्ममा खोप लगाउनुपर्ने जनसंख्याको ३३ प्रतिशतलाई लगाइसक्ने सरकारको लक्ष्य छ। अहिलेसम्म ५१ लाखले पूर्ण मात्राको खोप लगाएका छन् भने साढे ५८ लाखले पहिलो मात्रा लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले असोज मसान्तसम्ममा एक तिहाइ जनसंख्यालाई खोप लगाउने लक्ष्यसहित खोप कार्यक्रम अघि बढेको बताए। उनका अनुसार सरकारले अहिलेसम्म विभिन्न विकास साझेदार तथा मित्रराष्ट्रबाट गरी लगभग १ करोड २५ लाख मात्रा खोप प्राप्त गरेको छ।