सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरी हिरासतमा मृत्यु भएका शम्भुको अझै भएन पोस्टमार्टम

प्रहरी हिरासतमा मृत्यु भएका शम्भुको अझै भएन पोस्टमार्टम

धनुषाको इलाका प्रहरी कार्यालय सवैलामा मृत भेटिएका शम्भु सदाको शवको अझै पोस्टमार्टम हुन सकेको छैन।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

जनकपुरधाम- धनुषाको इलाका प्रहरी कार्यालय सवैलामा मृत भेटिएका शम्भु सदाको शवको अझै पोस्टमार्टम हुन सकेको छैन।

स्थानीय प्रशासनले सहमति गरेअनुसार पोस्टमार्टममा प्रादेशिक अस्पताल जनकपुरका साथै सिरहा अस्पतालका चिकित्सकलाई सहभागी नगराएपछि शम्भुका परिवारले पोस्टमार्टम गराउन नमानेको हो। शव प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ।

शम्भु प्रहरी हिरासतमा झुन्डिएको अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीविरुद्ध प्रदर्शन गर्दै इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका थिए। स्थानीयवासीको प्रदर्शनपछि पोस्टमार्टममा सिरहाका चिकित्सक दिलीप सदालाई समेत पोटस्टमार्टममा सहभागी गराउने सहमति भएको थियो।

तर, प्रादेशिक अस्पतालका चिकित्सकले पोस्टमार्टममा बाहिरका चिकित्सक सहभागी गराउन नमानेपछि शम्भुका परिवार तथा आफन्तले विरोध गरेका छन्। प्रादेशिक अस्पतालको चिकित्सकले गर्ने पोस्टमार्टममाथि आफूहरुलाई विश्वास नरहेको उनीहरुले बताएका छन्।

धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले प्रादेशिक अस्पतालका चिकित्सकमात्रै राखेर पोस्टमार्टम गराउन नमानेपछि ढिलो भएको बताए। पोस्टमार्टम नभएसम्म यथार्थ कुरा बाहिर नआउने एसपी बस्नेतले बताए।

मुसहर अगुवाको विरोध

स्थानीय प्रशासनले सहमति तोडेको भन्दै मुसहर अगुवाहरुले जनकपुरमा प्रदर्शन गरेका छन्। दलित अगुवाहरुले बिहीबार जनकपुरमा पोस्टमार्टममा सिरहाका चिकित्सक सदालाई समावेश गराउनुपर्ने भन्दै प्रदर्शन गरेका हुन्। हिरासतमै मृत्यु भएको घटना शंकास्पद रहेको भन्दै उनीहरुले सत्यतथ्य बाहिर ल्याउन न्यायिक जाँचको माग गरेका छन्।

हत्या गरिएको परिवारको आरोप

सवारी ज्यान मुद्दामा प्रहरी हिरासतभित्र रहेका शम्भुको हत्या भएको परिवार तथा आफन्तले आरोप लगाएका छन्। शम्भुकी आमा सियालदेवी सदाले छोराको हत्या भएको आरोप लगाएकी छिन्। साथै उनले आफूलाई बेहोस पार्ने सुई दिएर प्रहरीले जबरजस्ती मुचुल्कामा औंठाछाप लगाएको उनको आरोप छ। घटना भएको राति प्रहरीले चौकीभित्र लगेर जबजरस्ती कागजमा औंठाछाप लगाएको उनको भनाइ छ।

प्रहरीले भने शम्भुको हत्या भएको र जबरजस्ती सहीछाप गराएको भन्ने कुरा निराधार रहेको दाबी गरेको छ। इलाका प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक चन्द्रभूषण यादवले घटनाबारे तत्काल जानकारी गराउन शम्भुको आमालाई इलाका प्रहरी कार्यालय बोलाइएको बताउँछन्।

‘घटनाबारे तत्काल जानकारी गराउन हामीले उहाँलाई प्रहरी कार्यालय बोलाएका थियौं, छोराको निधनको खबर सुनेर बेहोस हुनुहुन्थ्यो,’ प्रहरी निरीक्षक यादवले भने, ‘नजिककै एकजना स्वास्थ्यकर्मी बोलाएर उहाँको उपचार गराउन लगाएका हौं। स्वास्थ्यकर्मीले उपचार गर्न सुई दिएको हो।’

मुचुल्कामा सहीछाप गराएको आरोपसमेत झुटो रहेको उनको दाबी छ। ‘इलाका प्रहरी कार्यालयमै रहेकोले हामीले शम्भुकी आमालाई छाप गरिदिन भनेका थियौं, तर, उहाँले आफूसँग कोही पुरुष छैन, सही गर्दिन भन्नुभयो,’ उनी भन्छन्,‘उहाँले नमानेपछि सहीछाप गराएनौं। सहीछाप भएको भए मुचुल्कामा हुनुपर्छ।’

प्रकाशित: Jun 12, 2020| 12:30 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।