काठमाडौं– गृह मन्त्रालयले जारी लकडाउन उल्लंघन गर्दै प्रदर्शन गरे एकदेखि ६ महिनासम्म थुन्न सक्ने चेतावनी दिएको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले लकडाउनको अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग २०२० को दफा ३ अन्तर्गत प्रमुख जिल्ला अधिकारीले १ देखि ६ सयसम्म जरिवाना र बढीमा ६ महिनासम्म थुन्न सक्ने चेतावनी दिएको हो।
केही दिनदेखि समाजिक सञ्जालको प्रयोगमार्फत सर्वसाधारणलाई निश्चित स्थानमा भेला हुन लगाएर लकडाउनको अवहेलना गरेको भन्दै गृहले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विज्ञप्तिमा काम नपरी हिँड्डुल गर्न नहुने, गर्नैपर्ने भए सामाजिक र भौतिक दूरी कायम गर्नुपर्नेलगायत सरकारको आदेश विपरीतका कार्य भइरहेको जनाइएको छ।
सरकारले कोरोना भाइरस नियन्त्रणमा गरेका काम चित्तबुझ्दो नभएको भन्दै पछिल्ला केही दिनदेखि देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ।
आज मात्रै प्रहरीले प्रदर्शन गरिरहेका युवाहरूको समूहमाथि अश्रु ग्यास र पानीको फोहरा हानेको थियो।
राष्ट्रिय सभा सदस्य राघेश्याम अधिकारी सरकारले नागरिकलाई लकडाउन पालना गर भन्ने नैतिक अधिकार गुमाइसकेको बताउँछन्।
“लकडाउनको नाममा नागरिकको वयैक्तिक अधिकार हनन् हुन सक्दैन,” उनी भन्छन्, “सरकारले गर्नुपर्ने काम केही नगर्ने नागरिकलाई पालना गर भनेर मात्रै हुँदैन।”
अधिकारी भन्छन्, “सरकारले लकडाउनको अवधिमा गर्नुपर्ने काम गरेको भए नागरिक सडकमा आउने थिएनन्।”
अधिवक्ता ओमप्रकाश अर्याल कानुन कार्यान्वयनका लागि सरकारले कदम चाल्न सक्ने भए पनि त्यो मनासिव हुनुपर्ने बताउँछन्।
“सरकारले लगाएको प्रतिबन्ध कुनै कोणबाट पुष्टि हुँदैन,” उनी भन्छन्, “लकडाउनको वैधता संकटमा परिसक्यो, सरकारको बेमनासिब प्रतिबन्ध देखिन थाल्यो।”
लामो लकडाउनले सार्वजनिक फाइदाभन्दा हानी बढी भएको अवस्थामा नागरिकको प्रश्न जायज भएको उनको भनाइ छ।
.jpg)