धनगढी – सुदूरपश्चिममा आज थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा २७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन्।
कोरोना संक्रमण पुष्टि हुनेमा बाजुराका १८, कैलालीका ७ र बझाङका दुईजना रहेका श्रेष्ठले जानकारी दिए। संक्रमण पुष्टि हुनेमा कैलालीको गौरीगंगा नगरपालिकाको वडा नम्बर ५ का २०, २३, २३, २४, २४, २९ वर्षीय पुरुष र घोडाघोडी नगरपालिकाका ३० वर्षीय पुरुष छन्।
यस्तै बुढीगंगा बाजुरामा आज सबैभन्दा बढीमा संक्रमण देखिएको छ। बुढीगंगामा ४ दिनको शिशुसहित १४, २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष तथा ३ वर्षीय बालिका, १८, २१, २२, २६, ३६, ४०, ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ। उनीहरु सबै भारतबाट फर्किएर एउटै क्वारेन्टिनमा बसिरहेका बुझिएको छ। संक्रमण पुष्टि भएका ती शिशु चार दिनअघि मात्रै क्वारेन्टिनमा जन्मिएका थिए। यस्तै बाजुराकै त्रिवेणीका ५० वर्षीय पुरुषमा समेत संक्रमण पुष्टि भएको छ। बझाङको थलारा गाउँपालिकाका ३४ वर्षीय पुरुष र बित्थडचीर गाउँपालिकाका ३० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।
थपिएका २७ जनासँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।