धनगढी – उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिमका थप तीन स्थानमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन राख्ने तयारी भैरहेको बताएका छन्। धनगढीको गेटा विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै भट्टले सुदूरपश्चिममा कोरोनाको जोखिम बढ्दै गएको भन्दै परीक्षण कार्यलाई प्रभावकारी बनाउन थप तीन मेसिन जडान गर्न लागिएको बताए।
भट्टले लकडाउन खुकुलो भएसँगै रोकिएका विकास निर्माणका कार्यले गती लिने बताए। देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको पनि भट्टले बताए। उनले कञ्चनपुरको दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने बताए।
सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न भट्टसहितको एक उच्चस्तरीय टोली धनगढी पुगेको छ। सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ।