अस्पतालमा उपचार गराएर घर फर्किदै गर्दा बाटोमा निधन भएका अर्घाखाँची मालारानी गाउँपालिकाका ५७ वर्षिय यमप्रसाद खनालको कोरोना परीक्षणका लागि पठाइएको स्वाब हराएको विषय निराधार भएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला कार्यालय भैरहवाले बताएको छ ।
कार्यालयका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले भने, ‘अर्घाखाँचीबाट ३ सय जनाको नमुना परीक्षणको लागि आएको थियो । केहीको लेभल मेटिएको अवस्थामा थियो । हामीले एउटाको नाम अर्कोमा नपरोस् भनेर त्यहाँका प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर पुनः नमुना मगाएका छौं । स्वर्गीय खनालको नाम भएको पनि मेटिएको अवस्थामा भएकोले पुनः मगाएका हौँ । नमुना फेरि आइपुगेको छ । भोलि बिहानसम्म रिजल्ट आइहाल्छ ।’
प्रयोगशालामा कुनै पनि गल्ती नहोस् भनेर त्यसो गरेको गिरीले बताए । दुई सय जनाको परीक्षण गर्न सकिनेमा चार सयभन्दा बढी नमुना आइरहेको हुँदा केही नमुना काठमाडौं पठाउने तयारी गरेको पनि उनले बताए ।
दुई हप्ता अगाडि भारतबाट फर्केका खनाललाई क्वारेन्टिनमा राखिएको थियो । मंगलबार श्वासप्रश्वासमा समस्या आएपछि सन्धिखर्क जिल्ला अस्पताल लगिएको उनलाई अवस्था जटिल देखेपछि त्यहाँबाट बुटवल रिफर गरिएको थियो ।
बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि घरमा आराम गर्नेगरी पठाइएका खनालको घर फर्किंदै गर्दा गोरुसिंगे सन्धिखर्क सडकखण्डको कोन्द्र खोला नजिकै पुग्दा मृत्यु भएको हो ।
उनको शव अहिलेसम्म यतिकै राखिएको छ । स्वाब परीक्षणको रिजल्ट आएपछि मात्रै शबको व्यवस्थापन गर्ने तयारी गरिएको छ ।