काठमाडौं- नेपाल प्रहरीको चर्चित सुडान घोटाला प्रकरणमा दोषी ठहर भएपछि जेल सजाय भोगिरहेका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी २० दिनअघि नै जेलमुक्त हुने भएका छन्।
तोकिएको एक वर्षको जेल सजाय भुक्तान हुन २० दिन बाँकी रहँदै ठकुरी आज(बिहीबार) जेलमुक्त हुन लागेका हुन्।
कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीप कँडेलले कारागारमा सहनाइके रहेका ठकुरीले अनुशासन कायम गर्नसमेत सहयोग गरेकाले २० दिन सजाय छुट पाएको जानकारी दिए।
“उहाँ नियमित कैद सजाय भुक्तान गरेर रिहा हुन लाग्नुभएको हो,” कँडेलले भने। सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहरसहित ठकुरीलाई एक वर्ष जेल सजाय र ४० हजार रूपैयाँ जरिवाना हुने फैसला सुनाइएको थियो।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला आंशिक उल्ट्याउँदै २०७४ वैशाख १६ गते उक्त सजाय तोकेको थियो।
प्रहरी महानिरीक्षक हुँदा नै उनलाई भ्रष्टाचारको मुद्दा लागेको थियो। त्यसपछि उनलाई पदबाट निलम्बन गरिएको थियो।
ठकुरीका पालामा सामान खरिद नभए पनि अन्तिम भुक्तानी उनले दिएको भन्दै अख्तियारले मुद्दा लगाएको थियो।
ठकुरीसँगै पूर्वआईजीपीहरू हेमबहादुर गुरुङ, ओमविक्रम राणा, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङदेन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई पनि जेल सजायको फैसला भएको थियो।
गुरुङ, राणा, थाङदेन र श्रेष्ठ भने यसअघि नै डिल्लीबजार सदर खोरमा थुनामा गएका थिए। सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रूपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरुमा तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतले भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अभियुक्तद्वारा सर्वोच्चमा दिएको पुनरावेदनमा अन्तिम फैसला भएको हो।
ठकुरीसहितका अन्य अभियुक्तबाट पनि विशेष अदालतको निर्णय खारेज गर्न पुनरावेदन परेको थियो। तर, सर्वोच्चले अख्तियारको पक्षमा फैसला दिएको थियो।