सरकारले यस वर्षको एसईई परीक्षा नगर्ने र विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको मूल्यांकन गर्ने निर्णय गरेपछि धेरैले सरकारको उक्त निर्णयलाई सकारात्मक भन्दै स्वागत गरेका छन्।
नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले एसईई कानुनी रुपमै खारेज गर्नुपर्ने सुझाव दिएका छन्। सरकारले यस वर्षको एसईई नगर्ने निर्णय गरेपछि थापाले यस्तो सुझाव दिएका हुन्।
थापाले ट्विट गर्दै भनेका छन्, 'यस वर्ष एसईई परीक्षा नहुने सही निर्णय। कक्षा ११ को परीक्षा पनि आन्तरिक मूल्याङ्कनबाट निर्धारण हुने व्यवस्था गरौं र अब एसईई कानुनी रूपमा नै खारेज गरौं। कक्षा१२ को परीक्षा राष्ट्रिय परीक्षाको रूपमा लिऔं। शिक्षा प्रणालीमा परिवर्तनको लागि संकटले उपलब्ध गराएको अवसरलाई खेर जान नदिऊँ।'
नेपाल प्रहरीका पूर्व डीआईजी डा. राजिव सुब्बाले यो वर्ष एसईई परीक्षा नहुने कदम स्वागतयोग्य रहेको भन्दै तर भविष्यमा उच्च शिक्षा हासिल गर्न जाँदा यसले विद्यार्थीहरुलाई अप्ठ्यारो पर्न सक्नेतर्फ सचेत गराएका छन्। 'तसर्थ यो निर्णय ट्रान्सक्रिप्टमा उल्लेख हुनुपर्छ। सबैभन्दा राम्रो आगामी वर्षदेखि एसईई परीक्षा खारेज गर्नु उत्तम,' सुब्बाले ट्विट गरेका छन्।
व्यवसायी आनन्दराज बतासले पनि एसईई परीक्षा यस वर्ष नगर्ने सरकारको निर्णयलाई उचित भन्दै अब यसलाई सधैँका लागि बन्द गरेर कक्षा १२ लाई नै विद्यालय तहको अन्तिम परीक्षाका रुपमा प्रभावकारी बनाइनुपर्ने सुझाव दिएका छन्। 'परीक्षामुखी हाम्रो शिक्षा प्रणालीलाई जीवन उपयोगी अर्थात् व्यावहारिक ढंगमा रुपान्तरण गर्न ढिलो भइसकेको छ,' बतासले ट्विट गरेका छन्।
कोरोना भाइरस संक्रमण जोखिमका कारण २०७६ चैत ६ गतेदेखि तोकिएको परीक्षा मन्त्रिपरिषद्ले चैत ५ गते स्थगित गरेको थियो। एसईईमा झन्डै ५ लाख विद्यार्थीले फाराम भरेका थिए। अब विद्यालयले आन्तरिक मूल्यांकन गरी उनीहरुलाई प्रमाणपत्र दिइनेछ।
हाललाई विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने गरी एसईई परीक्षा रोक्ने निर्णय भएको हो।