भैरहवा- एकैसाथ ५ जनाको हत्या गरेकाे आरोप लागेका झसेन्द्र सिञ्जालीले आफ्नो व्यक्तिगत चरित्रमा आँच आउने गतिविधि गरेर मानसिक रुपमा चोट पुर्याएकाले सहन नसकेर बदला लिएकाे बयान दिएका छन्।
रूपन्देहीको तिलोत्तमा १० मैनहियास्थित गंगादेवी कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्याका आरोपित सिञ्जालीलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।
सिञ्जालीले केही समयदेखि आफ्नो व्यक्तिगत चरित्रहत्या गरी मानसिक रुपमा चोट पुर्याएकाले बदला लिन हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनले पाँचै जनालार्ई पहिला लाठी प्रहार गरी अचेत बनाएको र पछि कोदालो (फरुवा) ले हानेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
सिञ्जालीमाथि तिलोत्तमा १० मैनहियाका कृष्णबहादुर पुनको फार्ममा कार्यरत ३ जना र स्थानीय २ जना गरी ५ जनाको सामूहिक हत्या गरेको आरोप लागेको छ।
इलाका प्रहरी कार्यालय बुटवलमा सार्वजनिक गरिएका सिञ्जालीलाई जिल्ला अदालत रुपन्देहीबाट कर्तव्य ज्यान मुद्दामा १ हप्ता म्याद थप गरिएको प्रदेश ५ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।
सिञ्जालीलाई फर्ममा काम गर्ने रूपन्देहीको सैनामैना नगरपालिका ५ दरखासीका ४० वर्षीय माधव मुसहर, उनकी पत्नी ३५ वर्षीया जानकी मुसहर, फर्ममै फर्मका सञ्चालक पुनका धर्म छोरा रमेश भनिने पोषराज मुसहर, स्थानीय करण चौधरी र आशिष चौधरीको हत्या आरोपमा मंगलवार बिहान पक्राउ गरिएको थियो।
घटनाका बेला सिञ्जालीले मदिरा सबेन गरेको बुझिएको छ। प्रहरीले घटनाका विषयमा थप अनुसन्धान गर्न मृतकको शरीरबाट रगत, फरुवा र लाठी प्रहरी विधिविज्ञान प्रयोगशालामा पठाउन लागेको छ। मृतकको शवलाई पोस्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।