कालिकोटमा आज भएको टिपर दुर्घटनाका घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गम्भीर घाइते भएका रास्कोट नगरपालिका वडा नम्बर २ का निस्पता सार्की र सोही ठाउँका मिन सार्कीलाई उद्धार गरी काठमाडौं लगिएको छ। निस्पताको दाहिने खुट्टा छिनेको छ भने बायाँ कोखामा प्वाल परेको छ ।
घाइते सोही वडाका प्रजे सार्की, अनिता सार्की, विवेक सार्की, अशोक परियार, गोविन्द सार्की र ३ महिने बालकको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । घटनामा २४ जना भने सामान्य घाइते छन् ।
अझै तीन जना बेपत्ता रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता प्रहरी उपरिक्षक राजिवबहादुर बस्नेतले जानकारी दिए । वेपत्ताहरुको पहिचान खुलेको छैन ।
कर्णाली नदीमा वेपत्ता भएकाहरुको नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । नदी धमिलो भएका कारण खोजीमा समस्या भएको प्रहरीको भनाइ छ ।
त्यस्तै घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा रास्कोट नगरपालिका वडा नम्बर २ का सर्मिला सार्की र थम्की सार्की रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।
भारतबाट आएका ३९ जना जना नागरिकलाई लिएर रास्कोटतर्फ गइरहेको ना ८ ख ५१३३ नम्बरको टिप्पर कर्णाली नदीमा खसेको थियो । टिप्पर चालक २९ वर्षे रंगनाथ थमलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनापछि कर्णाली प्रदेश सरकारले शोक वक्तव्य जारी गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरुको स्वास्थ्य लाभको कामना गरेको छ । घाइतेहरुको उद्धारका लागि कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेपाली सेनाको हेलिकोप्टरबाट कालिकोट पुगेका थिए ।