काठमाडौं– रुपन्देहीमा सोमबार राति सामूहिक हत्या गरिएका पाँच जनाका परिवारलाई क्षतिपूर्ति दिने सहमति भएपछि आफन्तले शव पोष्टमार्टम गर्ने सहमति जनाएका छन्।
मृतकका परिवारलाई तिलोत्तमा नगरपालिका र फर्म सञ्चालकले राहत दिने सहमति भएपछि शव पोष्टमार्टम सुरु गरिएको प्रहरीले जनाएको छ।
मृतकका परिवारसहित स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, प्रहरी र पीडितकातर्फबाट बुधबार भएको छलफलमा नगरपालिकाले प्रतिपरिवार २५
हजार रुपैयाँ र गंगादेवी पशु फर्म सञ्चालक कृष्णबहादुर पुनकोतर्फबाट प्रतिपरिवार १ लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।
मृतक परिवारले राहत पाउने भएपछि शव पोष्टमार्टम सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खड्गबहादुर खत्रीले जानकारी दिए।
नगरप्रमुख बासुदेव घिमिरका अनुसार नगरपालिकाले तत्कालै र फर्म मालिकले २० दिनभित्र राहत उपलब्ध गराउने छन्। क्षतिपूर्तिको माग गर्दै पोष्टमार्टमका लागि स्वीकृति नदिएपछि शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो।
तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित गंगादेवी पशुपंक्षी फर्ममा सोमबार राति झसेन्द्रबहादुर सिंजालीले ५ जनाको सामूहिक हत्या गरेका थिए।