काठमाडौं- सवारी दुर्घटनालगायत छुट्टाछुट्टै घटनामा परी पछिल्ला २४ घण्टामा देशभर १३ जनाले ज्यान गुमाएका छन्।
सवारी दुर्घटनामा सात जना तथा अन्य विभिन्न घटनामा सात जनाले ज्यान गुमाएका छन्।
काठमाडौं, सिरहा, कैलाली, धनुषामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाले ज्यान गुमाएका छन्।
यस्तै चार जनाको बेवारिसे अवस्थामा शव भेटिएको छ भने दुई जनाको डुबेर मृत्यु भएको छ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा बा८१प १७०३ नम्बर र बा.९४ प५३६७ नम्बरको मोटरसाइकल मंगलबार साँझ एकआपसमा ठोक्किएर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बा.९४ प ५३६७ नम्बरको मोटरसाइकल चालक मकवानपुर थाहा नगरपालिका–२ का २५ वर्षीय सर्जन नेपाली छन्।
दुर्घटनामा गम्भीर घाइते भएका उनको दीर्घायु अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार गुह्येश्वरी बस्ने बर्दियाका ३२ वर्षीय राम थारूको सोही अस्पतालमा उपचार भइरहेको छ। बा.८१ प १७०३ नम्बरको मोटरसाइकल चालकसहित प्रहरीले नियन्त्रणमा लिएको छ।
सिरहाको धनगढीमाई नगरपालिका–११ छप्रारीमा ना३ख ८८०० नम्बरको ट्यांकरले ना.१ ख २३३८ नम्बरको रोकी राखेको ट्यांकरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ।
मृत्यु हुनेमा २३३८ नम्बरको ट्यांकर चालक भारत अररिया बथनाहाका ३५ वर्षीय मो.निजाम छन्।
ठक्करबाट गम्भीर घाइते भएका उनलाई विराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। दुवै ट्यांकर र ना.३ ख ८८०० नम्बरको ट्यांकर सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ गजरियामा ज१त ३०४३ नम्बरको बालुवा लोड भएको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने रमेश शर्माको छोरी तीन वर्षीया सम्झनाकुमारी शर्माको मृत्यु भएको छ।
खेलिरहेको अवस्थामा ठक्कर दिँदा उनको मृत्यु भएको हो। ट्याक्टरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यस्तै उदयपुरको त्रियुगा नगरपालिका–१३ मकैबारीमा स्थानीय ४५ वर्षीय नारायण दनुवार मृत भेटिएका छन्।
रामेछापको लिखु तामाकोसी गाउँपालिका–१ दुरागाउँका ७६ वर्षीय ढलबहादुर घर्ती मृत भेटिएका छन्। झारफुक गर्न धामीको घरमा जान्छु भन्दै बिहान घरबाट निस्केका उनी मृत फेला परेको प्रहरीले जनाएको छ।
धनुषाको सबैला नगरपालिका–७ लभटोली बस्ने २५ वर्षीय अरुण मण्डल घरदेखि एक सय मिटर टाढा पोखरीको डिलमा बुधबार बिहान मृत अवस्थामा फेला परेका छन्।
रौतहटको राजदेवी नगरपालिका–६ कटर बनटोलका जयप्रकाश यादवको छोरी १० वर्षीया अर्चनाकुमारी यादव र सोही ठाउँ बस्ने तिलक साहछोरी १० वर्षीया नैना कुमारी साहको बागमतीखोलामा डुबेर मृत्यु भएको छ।
बागमती नदीमा नुहाउने क्रममा डुबिरहेको अवस्थामा स्थानीयले देखेर दुवै जनालाई उद्धार गरेर जिल्ला अस्पताल गौरमा लगिएकोमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो।
कैलालीको घोडाघोडी नगरपालिका–८ करुवा खोलातालमा डुबेर स्थानीय २३ वर्षीय गोविन्द सापकोटाको मृत्यु भएको छ।
डुबेर बेपत्ता भएका सापकोटाको शव भेटिएको प्रहरीले जनाएको छ।
कैलालीमा दुर्घटनामा ४ को मृत्यु
कैलालीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका–१ सडकमा बा.८ च २१०० नम्बरको कारले से.५ प ५७०६ नम्बरको मोटरसाइकल र एक साइकललाई मंगलबार साँझ ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
साइकलचालक सोही ठाउँ बस्ने २६ वर्षीया स्वर्णिमा चौधरी र साइकलमा सवार उनकै छोरा ५ वर्षीय कृस्टल चौधरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको घोडाघोडी अस्पताल सुखडमा उपचारका क्रममा मृत्यु भएको हो। से.५ प ५७०६ नम्बरको मोटरसाइकल चालक र सवार २ जनाको गम्भीर अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको छ।
कार र चालक बर्दगोरीया गाउँपालिका–६ का ४८ वर्षीय राजेन्द्रबहादुर मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
कैलालीकै गोदावरी नगरपालिका–४ बूढीतोलास्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१००८ प.४०३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चालक सोही ठाउँका २९ वर्षीय भक्त खनालको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।
यस्तै लम्की चुहा नगरपालिका–८ गप्कास्थित सडकमा नम्बर नखुलेको ट्याक्टरले से७प ५९०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रतापपुर बस्ने ४० वर्षीय टेकराज घिमिरेको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।