काठमाडौं- घरको छतमा आफ्नै आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा एक दम्पति प्रक्राउ परेका छन्। गैडहवा-६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। जग्गा सम्बन्धी विवादको कारणले परिवारमा दैनिक झगडा हुने गरेको र घटना सोही कारणले भएको भन्ने बुझिएको प्रहरीले बताएको छ।
२६ गते बिहानीपख करिब १ बजे शिशुको हत्या भएको सूचना पाएपछि इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक रबिन्द्र महतसहितको टोली गैडहवामा गएको थियो। घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरीले घरको छतमा आलो रगत जमेको अवस्थामा भेटिएको र मल्लाह दम्पती सुत्ने कोठाको टेबुलमा रगत लागेको हँसिया भेट्नुकासाथै कोठामा रहेको स्विचबक्समा र रेनुले लगाएको सारीमा पनि रगत जस्तो पदार्थ लागेको फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको प्राप्त प्रमाणको आधारमा सुक्ष्म रुपमा अनुसन्धान तथा सोधपुछ गर्दा मृतक आमा बुबाले हत्या घटना स्वीकार गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न रहेका श्रीराम मल्लाह र उनकी श्रीमती रेनुलाई घटनास्थलबाटै पक्राउ भएको प्रहरीले जनाउको छ।