कुल जनसंख्याकाे १३ प्रतिशत रहेका अश्वेतमाथि अमेरिकी प्रहरी निकै निर्दयी छ। सन् २०१९ मा प्रहरीद्वारा १०९९ व्यक्ति मारिएका थिए। यसरी मारिएकामा २४ प्रतिशत अश्वेत थिए।
अमेरिकामा अश्वेत नागरिक जार्ज फ्लायडको प्रहरी हिरासतमा मृत्यु भएपछि त्यहाँका कैयन् सहरमा भड्किएको हिंसा रोकिने संकेत देखिएको छैन। न्युयोर्क, सिकागो, फिलाडेल्फिया, लज एन्जलस जस्ता ठूला सहरमा मात्र होइन, हिंसाको आगो ह्वाइट हाउसको ढोकासम्म पुगेको छ।
गत आइतबार ह्वाइट हाउसअगाडि भेला भएका प्रदर्शनकारीले तोडफोड र आगजनी गरे। प्रहरीले स्थिति नियन्त्रणमा लिन ठूलो मात्रामा अश्रुग्यास प्रहार गर्नु परेको थियो।
अमेरिकी सञ्चारमाध्यमका अनुसार स्थिति यति बिग्रियो कि सुरक्षा अधिकारीले केही समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भूमिगत बंकरमा लगेर लुकाएका थिए। तनाव बढ्दै गएपछि ठूला ४० सहरमा कफ्र्यु लगाउनुपरेको थियो। राष्ट्रपति ट्रम्पले प्रदर्शन नरोकिए अमेरिकी सेनालाई सडकमा उतार्नेसम्मका चेतावनी दिए।
६ मिनेटको त्यो घटना
२५ मेको साँझ मिनेसोटा राज्यको मिनेपोलिस सहरमा अफ्रिकी मूलका जर्ज फ्लायड चुरोट किन्न एक स्टोरभित्र छिरे। उनले २० डलरको नोट दिएर चुरोटको बट्टा लिए। स्टोरका कर्मचारीलाई त्यो नोट नक्कली हो कि भन्ने शंका लाग्यो।
उनले तत्काल प्रहरी अधिकारीलाई फोन गरेर सूचना दिए। ती कर्मचारीले प्रहरीलाई फ्लायड रक्सीको नसामा रहेका र उनले चुरोटको बट्टा पनि फिर्ता नदिएको जानकारी दिएका थिए।
न्युयोर्क टाइम्सका अनुसार केहीबेरमा उक्त स्टोरमा दुई जना श्वेत प्रहरी अधिकारी पुगे। एक जनाले फ्लायडको कार नजिकै पुगेर उनलाई पेस्तोल देखाउँदै बाहिर आउन आदेश दिए। फ्लायड कारबाट बाहिर आए।
कारबाट निस्कनेबित्तिकै उनलाई ती प्रहरी अधिकारीले हत्कडी लगाउँदै भने, 'तपाईंलाई नक्कली नोट कारोबारमा गिरफ्तार गरिएको छ।' यसपछि प्रहरी अधिकारीले फ्लायडलाई प्रहरीको गाडीमा उकाल्न प्रयास गर्दै थिए, फ्लायड भुइँमा लडे। उनले आफूलाई क्लोस्ट्रोफोबिक अर्थात् केही निश्चित ठाउँमा आफूलाई त्यत्तिकै भय उत्पन्न हुने समस्या रहेको बताए। त्यसपछि प्रहरी अधिकारीले उनलाई भुइँमै बसाले।
सोही बेला त्यहाँ साबिन नामक अर्का प्रहरी अधिकारी आइपुगे। उनले फ्लायडलाई जबरजस्ती कारमा उकाल्न प्रयास गरे। फ्लायड फेरि भुइँमा लडे। अनि साबिनले आफ्नो एउटा एउटा घुँडा फ्लायडको गर्धनमाथि राखे। ती प्रहरी अधिकारीले ८ मिनेट ४६ सेकेन्डसम्म फ्लायडको गर्धनमा घुँडाले थिचिरहे। यस क्रममा फ्लायडले कैयौं पटक 'मलाई सास फेर्न कठिन भयो' भनिरहे पनि साबिनले गर्धनबाट घुँडा हटाएनन्।
प्रत्यक्षदर्शीका अनुसार गर्धनमा थिचिरहेको ६ मिनेटपछि फ्लायडको शरीर चल्न छाडेको थियो। तर पनि साबिनले थिचि नै रहे। केहीबेरमा प्रहरी अधिकारीले फ्लायडको नाडी छाम्दा उनी अचेत भइसकेका थिए। यसपछि अत्तालिएका प्रहरी अधिकारीले तत्काल एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पठाए।
अस्पताल पुर्याउनेबित्तिकै चिकित्सकले फ्लायडलाई मृतक घोषित गरिदिए। यो घटनापछि तीनै जना प्रहरी अधिकारीलाई निलम्बन गरियो। गर्धन थिच्ने साबिनलाई त हत्याको अभियोग लगाइएको छ।
अश्वेतमाथि ज्यादतीकाे शृंखला
जर्ज फ्लायडको मृत्युको केही घण्टापछि नै अमेरिकामा हिंसात्मक प्रदर्शन सुरु हुन थाल्यो। हेर्दाहेर्दै यो घटनाको विरोधमा सबैजसो ठूला सहरमा प्रदर्शनकारीले निशाना बनाउन थाले।
अमेरिकी सञ्चारमाध्यमका अनुसार सन् २०१४ मा पनि अश्वेत एक युवक एरिक गार्नरको यसरी नै मृत्यु भएको थियो। फ्लायडको मृत्यु पनि सोही घटना सम्झाउने खालको रहेको भन्दै मानिस उग्र भएका हुन्।
उति बेला न्युयोर्क सहरका एक प्रहरी अधिकारीले एरिकको मृत्यु नहुन्जेलसम्म गर्धनमा थिचेका थिए। एरिकले ११ पटकसम्म 'मैले सास फर्न पाइनँ' भन्दा पनि ती प्रहरी अधिकारीले छाडेका थिएनन्।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिले हिंसा भड्कनुको महत्त्वपूर्ण कारण यो हो कि विगत केही वर्षदेखि अश्वेतविरुद्ध प्रहरी अत्याचार व्यापक बढेको छ।
प्रहरी निर्दयताको चर्चित घटना २०१४ मा फर्गसन सहरमा १८ वर्षका निहत्था युवक माइकल ब्राउनको गोली हानेर भएको हत्याको घटनालाई लिइन्छ। गोली हान्ने प्रहरी अधिकारीमाथि कानुनी कारबाही नगरिएसम्म आन्दोलन भड्किएको थियो।
२०१५ मा अमेरिकाको बाल्टिमोरमा २५ वर्षका अश्वेत युवक फ्रेडी ग्रेको हत्याको घटनापछि स्थिति तनावपूर्ण बनेको थियो। फ्रेडीको गिरफ्तार गर्ने समयमा प्रहरीले यति ताकत लगाएको थियो कि प्रहरीको भ्यानमै उनको मृत्यु भएको थियो।
फ्रेडीलाई गिरफ्तार गरिएको भिडियो सार्वजनिक भएपछि बाल्टिमोरमा हिंसा भड्किएको थियो। स्थिति नियन्त्रणमा लिन सरकारले संकटकाल नै लगाउनुपरेको थियो।
२०१६ मा मिनेसोटा प्रान्तमा भएको प्रहरी कारबाहीलाई लिएर आन्दोलन चर्किएको थियो। ३२ वर्षका अश्वेत युवक फिल्यान्डो केस्टीले जब ट्राफिक संकेत नजिक एक प्रहरी अधिकारीलाई आफूसँग पिस्तोल रहेको बताए, त्यसपछि प्रहरी अधिकारीले उनीमाथि तत्काल गोली प्रहार गरेका थिए। अदालतले ती प्रहरी अधिकारीलाई मुक्त गरेपछि २०१७ सम्म प्रदर्शन भएको थियो।
२०१६ मै अमेरिकाको लुइसियाना सहरमा प्रहरीको अर्को निर्दयी घटनाले आन्दोलन भड्किएको थियो। त्यतिबेला सीडी व्यापारी अश्वेत एल्टन स्टलिङलाई प्रहरीले बजारमा गोली हानेर हत्या गरेको थियो।
ब्रिटिस अखबार दि गार्जियनको एक अध्ययनअनुसार अमेरिकी प्रहरीले २०१६ मा प्रति दस लाख नागरिकमध्ये औसतमा १०.१३ जनालाई गोली हानेको थियो। यिनमा अश्वेतमाथि प्रहार गरिएको दर ६.६ थियो भने श्वेतमाथि २.९ थियो।
सन् २०१८ मा अमेरिकन जर्नल अफ पब्लिक हेल्थमा प्रकाशित एक अध्ययनअनुसार अमेरिकामा प्रति एक लाख व्यक्तिमा प्रहरीको हातबाट मारिने अश्वेतको संख्या १.९ देखि २.४ सम्म छ। जबकि श्वेत व्यक्तिमाथि प्रहरी कारबाहीको दर ०.०६ देखि ०.०७ प्रतिशत छ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकमा २०१५ देखि अहिलेसम्म प्रहरीले नागरिकमाथि गोली प्रहार गरेको घटना ४४ सय छ।
अमेरिकामा १३ प्रतिशत जनसंख्या अश्वेतको छ। प्रहरीको गोली लागेर मारिनेमा एक चौथाइ अश्वेत छन्। वासिङ्टन पोस्टको निष्कर्ष छ- अमेरिकामा प्रहरीद्वारा निहत्था गोरा व्यक्तिको तुलनामा निहत्था अश्वेत व्यक्ति मारिने सम्भावना चार गुणाभन्दा बढी हुन्छ।
अर्को एक अध्ययनअनुसार अमेरिकामा सन् २०१९ मा प्रहरीद्वारा १०९९ व्यक्ति मारिएका थिए। यसरी मारिएकामा २४ प्रतिशत अश्वेत थिए। जबकि अश्वेतको जनसंख्या १३ प्रतिशत छ।
नश्लीय विभेदविरुद्ध दिग्गजहरूकाे साथ
केही अमेरिकी विज्ञहरुका अनुसार फ्लायडको मृत्युपछि अमेरिकी नागरिक यसकारण बढी आक्रोशित छन्, उनीहरु प्रहरी ज्यादतीबाट आजित भएका छन् र उनीहरु प्रहरी संयन्त्रको पूरै परिवर्तन चाहन्छन्।
यसपटक प्रदर्शनकारीमा साहस बढ्नुको अर्को कारण के हो भने हलिउडका दिग्गज अभिनेताहरु, पूर्वराष्ट्रपति बाराका ओबामा, ट्विटरका प्रमुख कार्यकारी अधिकृत ज्याक डोर्सी, अन्तर्राष्ट्रिय संस्थाहरुले अमेरिकी प्रहरीको कार्यशैली, संघीय सरकारको भूमिका, न्याय प्रणाली र कानुनी निकायमा फैलिएको नश्लीय भेदभावबारे खुलेर आलोचना गरेका छन्।
प्रायः सबैले अमेरिकी प्रहरी संयन्त्रमा रहेको कानुन परिवर्तनको माग गरेका छन्। उनीहरुको माग छ- कुनै प्रहरी अधिकारीले कसैलाई गोली हान्न अगाडि कम्तीमा सय पटक सोचोस्।
जानकारहरुका अनुसार प्रदर्शनकारीलाई के लागेको छ भने यसपटक प्रहरी र प्रशासनविरुद्ध जसरी माहोल सिर्जना भएको छ, अब संघीय सरकार प्रहरी संयन्त्रलाई परिवर्तन गर्न बाध्य हुनेछ। यही आशाले उनीहरु निरन्तर सडकमा आन्दोलनरत छन्।
(एजेन्सीहरूकाे सहयाेगमा)