काठमाडौं– कोरोना भाइरस(कोभिड– १९) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपको निर्णायक मण्डलमा नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का मनोनित भएका छन्।
खड्कासहित प्रतियोगिताका लागि विभिन्न राष्ट्रका १३ जना निर्णायक चयन भएकोमा एसियाली महादेशबाटै मनोनित हुने खड्का एक मात्र निर्णायक हुन्।
खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायकसमेत हुन्। युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा प्रतियोगिता नेपाली समय अनुसार आज राति १२ बजेदेखि सुरु हुँदैछ। चार दिने प्रतियोगिता ‘जुम’एप मार्फत् प्रत्यक्ष प्रसारण हुने छ।
प्रतियोगिताबाट संकलित रकम कोरोना भाइरसबाट अति प्रभावित विभिन्न राष्ट्रका अनाथालयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का अध्यक्षसमेत रहेका खड्काले जनाएका छन्।
सहभागी खेलाडीले दर्ता शुल्कवापत एक सय अमेरिकी डलर बुझाउनु पर्ने छ। निर्णायकले पारिश्रमिक वापत पाउने रकम पनि अनाथालयमा रहेका खेलाडीलाई सहयोग स्वरुप प्रदान गरिने छ। निर्णायकले प्रति दिन एक सय अमेरिकी डलरका दरले पारिश्रमिक पाउने छन्।