काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित चाहमेन-इ-होजेरीमा शुकरुल्लाहले चारवटा कार्पेट बिक्रीका लागि ल्याए। उक्त क्षेत्र रेफ्रिजेरेटेर, कुसन, पंखा, सिरानी, कम्बल, विभिन्न भाडाकुँडा, पर्दा, खाट, म्याट्रेस, खाना बनाउने साधनहरु, र्याकहरुले भरिएको थियो। ती सामानहरु सयौं अफगानीहरुले बिक्री गरेका थिए।
त्यहाँ रहेको घाँसे मैदान अफगानीहरुले बिक्रीका लागि ल्याएका विभिन्न सामानहरुले भरिएपछि धुलोमैलो बनेको थियो। अफगानीहरुले विगत २० वर्षको अवधिमा जोडेका विभिन्न सम्पत्ति आफ्नो परिवारको पेट पाल्नका लागि बिक्री गरिरहेका थिए।
शुकुरुल्लाहले भने, 'हामीले यी कार्पेट ४८ हजार अफगानिज् (५५६ अमेरिकी डलर)मा खरिद गरेका थियौं। तर, अहिले यसको ५ हजार अफगानिज् (५८ डलर) भन्दा बढी पाउन सकेनौं।'
तालिबान समूहले अगस्त १५ मा मुलुक कब्जा गरेपछि अफगानिस्तानमा अहिले नगदको संकट भएको छ। विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अमेरिकी केन्द्रीय बैंकले अन्तर्राष्ट्रिय कोषहरुमा अफगानिस्तानको पहुँच कटौती गरेपछि यस्तो संकट सिर्जना भएको हो। अफगानिस्तानका बैंकहरु बन्द छन् र विभिन्न ठाउँमा रहेका एटीएमहरुमा नगद नराखिएका कारण बैंकमा रहेको पैसा पनि झिक्न पाएका छैनन्।
केही बैंकहरु खुला गरिएका भए पनि हप्तामा २० हजारभन्दा बढी पैसा निकाल्न नपाइने प्रावधान बनाइएको छ। राष्ट्रिय बैंकबाहिर रकम निकाल्नका लागि सयौं महिला तथा पुरुषहरु दिनभर लामबद्ध भएका देखिन्छन्।
शुकरुल्लाहजस्तै अन्य व्यक्तिहरु पनि उक्त क्षेत्रमा आफ्नो सामग्री बिक्रीका लागि लाइनमा रहेका थिए। शुकरुल्लाहले भने, 'मैले दैनिक खानका लागि पिठो, चामल, दाल, तेल किन्नुपर्छ। मेरो परिवारमा ३३ जना रहेका छन्। गत वर्षदेखि हामी सबै सँगै बस्दै आएका छौं।'
राष्ट्रपति असरफ घानीले देश छोडेपछि अफगानिस्तान कब्जा गरेको तालिबानले सत्ता सम्हालेपछि मुलुकको अर्थतन्त्र थप ओरालो लाग्दै गएको हो। संयुक्त राष्ट्र संघले गत साता एक रिपोर्ट सार्वजनिक गर्दै सन् २०२२ को मध्यसम्ममा ९७ प्रतिशत जनसंख्या अफगानिस्तानमा गरिबीको रेखामुनि पर्ने चेतावनी दिएको थियो।
संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले सोमबार उच्चस्तरीय मानवीय सहायताका लागि पहल गर्नुपर्ने बताएका थिए। उनले ६०० मिलियन अमेरिकी डलर सहयोग गर्नुपर्ने बताए। उनले त्यसको एक तिहाइ भाग खानाका लागि सहयोग गर्नुपर्ने बताए। - अलजजिरा