बुधबार, चैत ११, २०८२

‘डेंगीको संक्रमण फैलँदो छ, सचेत बनौं’

अहिले क्वारेन्टिनमा बस्ने मानिसहरुमा १५ जनामा मलेरिया पत्ता लागिसकेको छ यसलाई विषेश ध्यान दिएर सचेत हुनु जरुरी छ ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढिरहेको छ । साथै यसभन्दा बाहेक अन्य रोगहरुको संक्रमण बढ्ने सम्भावना पनि उत्तिकै छ ।

National life

वर्षातको समय सुरु भइसकेको छ । यो अवस्थामा क्वारेन्टिनमा तथा घरमा वा कामको सिलसिलामा बाहिर जाँदा कोभिड बाहेक अन्य सरुवा तथा ट्रपिकल रोगहरु हुने अवस्था छ । यसमा मुख्यगरी डेंगी, मलेरिया, सर्पदंश तथा झाडापखाला जस्ता समस्या देखिने अवस्था छ ।

गत वर्ष महामारीको रुपमा देखिएको डेंगीको जोखिम बढेको छ । नेपालमा पहिलोपटक १६ वर्ष अगाडि देखिएको थियो । हरेक वर्ष विभिन्न ठाउँमा डेंगीको प्रकोप देखिएको छ भने २–३ वर्षको अन्तरालमा यो रोगले महामारीको रुप लिएको छ ।

यो रोगले सामान्यतया वैशाखदेखि मंसिरसम्म देखिने गरेको छ । गत वर्ष नेपालमा ६८ जिल्लामा १६ हजारको हाराहारीमा डेंगीको संक्रमण देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ, जसमध्ये ६ जनाको मृत्यु भएको थियो ।

यो वर्ष पनि विभिन्न जिल्लामा पुसदेखि आजसम्म ८२ जनामा डेंगी देखा परेको छ । २६ जिल्लाहरु प्रभावित भएका छन् । त्यसमध्ये सबैभन्दा धेरै रुपन्देहीमा ३५ जना र म्याग्दीमा १२ जनालाई डेंगी भएको छ ।

Laxmi sunrise bank
kumari

त्यस्तै मकवानपुर, गोरखा र तनहुँ जिल्लामा एक–एक जनामा डेंगी संक्रमण भएको छ । त्यस्तै कास्कीमा १० जना, काठमाडौंमा ७ जना, नवलपरासीमा १ जना, बाग्लुङमा २ जना, ललितपुरमा ४ जना, सुनसरीमा ४ जना, पाल्पामा १ जना, नवलपरासी पश्चिममा १ जना, मोरङमा ३ जना, कपिलवस्तुमा ३ जना, तेह्रथुममा २ जना, बाँकेमा १ जना, डडेलधुरमा १, दाङमा १ जना, झापामा १ जना, उदयपुरमा १ जना, नुवाकोटमा २ जना, कैलालीमा २ जना, धनकुटामा २ जना, रामेछापमा १ जना र धादिङमा २ जना गरी अहिलेसम्म ८२ जनामा संक्रमण भएको छ ।

विश्वमा पनि यो रोगको संक्रमण बढिरहेको छ । लगभग विश्वको आधा जनसंख्या यो रोगको जोखिममा रहेका छन् । धेरै जनामा यो रोगको लक्षणमा मध्यम तथा कडा खालको लक्षण देखिन सक्छ ।

समयमै रोगको निदान नभएमा मृत्युसमेत हुन सक्ने अवस्था छ । डेंगी रोग एडिस एजिप्टाइ र एजिप्ट एल्बोपिक्टस जातको लामखुट्टेको टोकाइबाट लाग्ने गर्छ । यो लामखुट्टे अन्यभन्दा अलि ठूलो आकारको, छिर्केमिर्के हुने गर्छ । डेंगी ज्वरो छोटो समयमा संक्रमण हुने भाइरल रोग हो ।

यसका लक्षणहरुमा एक्कासि ३ देखि ५ दिनसम्म ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, आँखाको गेडी दुुख्ने, अरुची हुने, पेट तथा आन्द्रामा गडबड हुने र शरीरमा डाबर आउने गर्छ ।

केही मानिसहरुमा सुरुमा शरीरमा विमिरा जस्तो आउँछ र डाबर जस्तो देखिन्छ । ज्वरो आइरहेको अवस्थामा नाक तथा गिँजाबाट रक्तश्राव हुने र छालामुनी पनि रक्तश्राव हुन्छ ।

तर डेंगी हेमोरोजीपट फिवर गम्भीर खालको रोग हो । यो भएको अवस्थामा मृत्यु पनि हुन सक्छ । तर राम्रो उपचार पाएमा निको हुन्छ । यसको लागि अस्पतालमा भर्ना हुनुपर्छ र चिकित्सकको सल्लाह विना कुनै पनि औषधि सेवन गर्नु हुँदैन । यो रोगबाट बच्नको लागि समुदायको महत्वपूर्ण भूमिका हुन्छ ।

बच्ने उपाय

डेंगी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भएकाले यसबाट बच्न शरीरलाई ढाक्नेगरी कपडा लगाउन पर्छ । डेंगी सार्ने लामुखट्टे मानव वस्ती वरीपरी वा कृत्रिम रुपमा जमेको पानीमा, फालेको बाटा, बाल्टिन, फूलदानी, खाल्डाखुल्डी, लोटा, बोतलहरु, पानी जम्ने खुल्ला ट्यांकीमा फूल पारी वृत्तिविकास हुने भएकाले तत्कालै लामखुट्टेको बासस्थान, खोज तथा लार्भा नष्ट गर्ने काम सञ्चालन गर्नुपर्छ । थोरै पानी जम्ने ठाउँमा पनि पानी जम्न नदिई समय समयमा सफा गर्नुपर्छ ।

दिउँसो सुत्दा पनि झुलको प्रयोग गर्नुपर्छ । डेंगीको शंका लागेमा नजिकैको स्वास्थ्य संस्थामा जानुपर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार गरे निको हुन्छ । डेंगीको ज्वरो पनि भाइरसबाट हुने एकप्रकारको रोग हो । यसको पनि कुनै उपयुक्त भ्याक्सिनको विकास हुन सकेको छैन ।

यसको पनि विशेष एन्टीभाइरल औषधि छैन । त्यसैले यसबाट बच्नु नै ठूलो उपाय हो । हामीले रोग नियन्त्रण महाशाखाबाट यो रोगको लागि प्रत्येक प्रदेश र स्थानीय निकायमा यसबाट बच्नको लागि र जाँचको लागि डाइग्नोस्टिक किटको व्यवस्था गरिएको छ । त्यस्तै मलेरियाको लागि पनि किटको व्यवस्था भएको छ। यसलाई नियन्त्रणको लागि स्थानीय सरकारको प्रमुख भूमिका रहन्छ ।

अहिले क्वारेन्टिनमा बस्ने मानिसहरुमा १५ जनामा मलेरिया पत्ता लागिसकेको छ यसलाई विषेश ध्यान दिएर सचेत हुनु जरुरी छ ।

(डा. पाण्डे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक हुन्)

प्रकाशित: Jun 01, 2020| 17:51 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्