केही पूर्वविद्यार्थी बिहानै त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा भेला भए। विद्यालयको मूल गेटसँगै रहेको गम्भीरमान मास्केको सालिक सरसफाइ गरे। आफूहरुले ल्याएको रुद्राक्ष र सयपत्रीको माला सालिकमा अर्पण गरे, गुरूलाई स्मरण गरे। मौनधारण गरे र सामूहिक फोटो खिचे।
‘उहाँले आफ्ना विद्यार्थीलाई जुन गुण लगाउनु भएको छ , त्यसले नै हामीलाई उहाँप्रति नतमस्तक बनाएको छ’, विद्यालयका पूर्व विद्यार्थी राजेश प्रधानाङ्गले भने, ‘उहाँले शिक्षकका रूपमा गर्नुभएको समर्पण अतुलनीय छ। उहाँको त्यो गुनलाई जगाइराख्न पनि आज उहाँको जन्मदिनमा भेला भएका हौं।’
अवस्था सामान्य थियो भने जेठ १७ गते विश्व निकेतन माविमा उत्सवमय वातावरण हुन्थ्यो। बन्दाबन्दी र भौतिक दूरीको वातावरणले त्यसो गर्न दिएन।
औपचारिक कार्यक्रम तथा अन्य क्रियाकलाप गर्न नसकिएको बताउँदै प्रधानाङ्गले केही साथीभाइ मात्र भेला भई श्रद्धा सुमन अर्पण गरेको बताए।
‘अहिलेको जटिल परिस्थितिमा इच्छुक अन्य सबैलाई सामाजिक सञ्जालबाट जोड्यौं,’ उनले भने, ‘उहाँले हामीलाई सधैं असल हुनुपर्छ भन्ने शिक्षा दिनुभयो। नैतिकता हराउँदै गएको अहिलेको समयमा उहाँको त्यो शिक्षा बढी सान्दर्भिक छ।’
२०७५ मंसिर १६ मा ८७ वर्षको उमेरमा उनको निधन भयो। उनको निधन भएको केही समयमै उनका शिष्यको सक्रियतामा विश्व निकेतन–गम्भीरमान फाउन्डेसन नामक एक सामाजिक संस्था गठन गरियोे जसले मास्केको पहिलो वार्षिकी पारेर उनको सालिक विद्यालय परिसरमा स्थापना गर्यो।
‘गुणस्तरीय शिक्षाको लागि हातेमालो’ भन्ने नारालाई आत्मसात् गर्दै संस्थाले शैक्षिक क्रियाकलापलाई अघि बढाउने लक्ष्य लिएको छ। संस्थाले स्वर्गीय मास्केको जन्मदिन पारेर गत वर्ष उनीद्वारा लिखित ‘दिवा स्वप्नमा आउने’ पुस्तकको अंग्रेजी संस्करण ‘द लिंगरिङ इमेज अफ माइ डे ड्रिम्स’ प्रकाशित गरेको थियो।
२०१७ सालमा अंग्रेजी विषय शिक्षकका रुपमा विश्व निकेतन प्रवेश गरी २०२३ देखि २०५१ सम्म प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका मास्के एक अनुकरणीय शिक्षासेवी थिए।
मास्केलाई धेरैजनाले धेरै दृष्टिकोणबाट सम्झने गरेका छन्। शिक्षक तप्काले उनलाई मित्रवत् र सहयोगी सम्झन्छन्।
‘गम्भीरमान सरले शिक्षक तथा विद्यार्थीलाई प्रोत्साहन गरिरहनुहुुन्थ्यो,’ लामो समय विश्व निकेतन माविमा नेपाली विषय शिक्षिका रहेकी मञ्जु अधिकारीको स्मरण छ। ‘कहिल्यै नरिसाउने, सदैव सहयोगका लागि तत्पर हुने उहाँको गुण अनुकरणीय छ। उहाँले विद्यालयलाई नै आफ्नो परिवार ठान्नुभयो। त्यो उहाँको ठूलो त्याग हो’, अधिकारीको भनाइ छ।
मास्केलाई शिक्षासेवी मात्र होइन शिक्षा योगीका रुपमा हेर्ने विद्यार्थीका पनि कमी छैन।
‘यो विद्यार्थी राम्रो छ। यसलाई पढ्न दिनुपर्छ है भनेर घरघरमा गएर अभिभावकलाई अनुरोध गर्न आउने शिक्षक कति होलान् ?’ हाल अमेरिका कर्मथलो रहेका पूर्व विद्यार्थी सुशील ताम्राकारले भने।
‘विद्यालयलाई कसरी राम्रो बनाउने भन्ने उहाँको एउटै मात्र ध्याउन्न थियो। शिक्षक र विद्यार्थी राम्रो भए स्कुल त्यसै राम्रो हुन्छ भनेर उहाँले आफ्नो जीवन नै स्कुललाई समर्पित गर्नुभयो’, ताम्राकार सम्झन्छन्। उनको भनाइमा गम्भीरमान मास्के शिक्षक नै हुन जन्मेको मान्छे हुनुहुन्थ्यो।
‘उहाँले जहिले पनि असल मान्छे हुनुपर्छ भन्ने मात्र जोड दिनुभयो,’ ताम्राकार भन्छन्, ‘उहाँ आफैं पनि एउटा असल मान्छे भएर बित्नुभयो। हामीले देखेको सन्त हुनुुहुन्थ्यो गम्भीरमान सर।’
कुनै बेला विश्व निकेतन र गम्भीरमान एक अर्काका पर्याय थिए। ‘वास्तवमा त्यो त्यसै भएकोे होइन नि। त्यसको लागि उहाँको कति योगदान रहेको छ भनेर कि त उहाँका सहकर्मीले बुझेका होलान्, कि त परिवारका सदस्यले बुझेका होलान्,’ विद्यालयमा गणित शिक्षकको रूपमा ४२ वसन्त बिताइसकेका पूर्णबहादुर अमात्य भन्छन्।
अमात्यका अनुसार मास्केले आफ्नो स्वार्थलाई नहेरी विद्यार्थी र विद्यालयको हित हेरेकाले नै उनीप्रति सबैको श्रद्धा भएको हो।
‘मास्के सधैं ‘राम्रो गरे राम्रै हुन्छ’ भन्ने उक्ति दोहोर्याइरहनुहुन्थ्यो। तर सधैँ भने जस्तो गर्नु सजिलो हुँदैन,’ पूर्व विद्यार्थी प्रदीप ढकाल भन्छन्, ‘उहाँले जे भन्नुभयो त्यही कुरा गर्नुभयो र एउटा पूर्ण सिद्धान्तनिष्ठ व्यक्तित्व रहन सफल हुनुभयो। उहाँ एउटा योगी हो, शिक्षायोगी।’
गम्भीरमान मास्के सरप्रति श्रद्धासुमन !