काठमाडौं- अमेरिकी सेनाको फिर्तीसँगै बन्द रहेको काबुल विमानस्थल पुनः सञ्चालनमा आएसँगै विभिन्न देशले अफगानिस्तानमा अलपत्र आफ्ना नागरिकहरूको उद्धारमा पहल गरिरहेका छन्। अफगानिस्तानबाट हालसम्म ९०३ नेपालीहरुको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३४ जना नेपालीहरु काबुल विमानस्थलमै छुटेका थिए। उनीहरुको उद्धार यही साताभित्र गर्ने जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयका एक अधिकारीले भने, 'अफगानिस्तानमा अलपत्र परेका ३४ नेपाली नागरिकलाई यही साताभित्र चार्टर्ड उडानमार्फत् स्वदेश फर्काउन पहल भइरहेको छ।'
अफगानिस्तान समेत हेर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावास उनीहरुको सम्पर्कमा रहेको र उनीहरु काबुलमा सुरक्षित रहेको र उद्धारका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ। निजी सुरक्षाकर्मी आपूर्तिमा संलग्न कम्पनीको चार्टर्ड उडानमा नेपाली नागरिकहरू फर्काउन नयाँ दिल्लीस्थित दूतावासले पहल गरिरहेको छ।
अफगानिस्तानमा संयुक्त राष्ट्रसंघ अन्तर्गतका विभिन्न निकायमा कार्यरत ४६७ नेपालीमध्ये ४२४ जना अझै त्यहीँ रहेका छन्। गत महिना अफगानिस्तानको सत्ता तालिबानले हातमा लिएपछि बिदामा आएका ४३ जना नेपालमै रोकिएका थिए।
काबुलमा अलपत्र परेका ३४ जनासहित बिदानमा नेपाल आउन चाहेका थप एक सय जनालाई नेपाल फर्काएर नेपालमा रहेका अफगानिस्तानका लागि राष्ट्रसंघमा कार्यरत ४३ नेपालीहरुलाई फिर्ता गर्ने गरि तयारी भइरहेको बताइएको छ।
यद्पि नेपाल सरकारले भने नेपालमा रहेकाहरुलाई फर्काउनका लागि हालसम्म कुनै निर्णय गरिसकेको छैन।
यसअघि अफगानिस्तानमा रहेका नेपालीहरूको स्वदेशफिर्तीका लागि परराष्ट्र मन्त्रालयले दिल्लीस्थित नेपाली दूतावासबाट समन्वय गर्न अनलाइनमार्फत लगत संकलन गर्ने लगायतको काम गरेको थियो।
अगस्त ३१ मा अमेरिकी सेना फिर्ता भएपछि बन्द रहेको काबुल विमानस्थलमा गत साताबाट सीमित अन्तराष्ट्रिय उडानहरू सुरु भएका हुन्। प्रान्तीय राजधानी कब्जा गर्दै राजधानी काबुलतर्फ तालिबान लडाकुहरू अघि बढेपछि नेपालीहरूलाई स्वदेश फर्कन सरकारले आह्वान गरेको थियो।