शुक्रबार, वैशाख ७, २०८१

यसरी गगनको रणनीति पछ्याउँदैछन् विश्वप्रकाश

बूढानीलकण्ठको कम्पाउन्डबाट बाहिर निस्कनु, एकल उम्मेदवारी घोषणा गर्नु र निधिसँग समीप्यता बढाउनुले शर्मा गगनकै शैलीमा विश्वप्रकाश अघि बढेको संकेत गर्छ।
 |  सोमबार, भदौ २८, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

सोमबार, भदौ २८, २०७८

काठमाडौं- भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री लड्ने घोषणा गरे। बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजल पुगेर महामन्त्रीमा लड्ने घोषणा गरेपछि कांग्रेसवृत्तमा बहस हुनु असामान्य होइन। यही बहसमा एउटा विषय उब्जिएको छ, सभापति शेरबहादुर देउवा पक्षका नेता भनेर चिनिएका कांग्रेस प्रवक्ता शर्माको एकल उम्मेदवारी घोषणाको अर्थ के?

triton college

१३औं महाधिवेशनमा देउवा समूहबाटै पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्माले प्रवक्ताको जिम्मेवारी पाएका थिए। २०७४ को आमनिर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि कांग्रेसमा देउवाको तीव्र आलोचना भएको थियो। त्यो बेला देउवाले यस्तो प्रवक्ता खोजेका थिए, जसले आफ्नो प्रतिरक्षा गरोस् र पार्टीका हरेक गतिविधिलाई प्रभावकारी ढंगले सम्प्रेषण गरोस्। पार्टी पराजयपछि पार्टीभित्र र बाहिरबाट देउवामाथि घेरबन्दीको अवस्था थियो। त्यसलाई चिर्ने प्रयासस्वरुप गगन थापालाई प्रवक्ता बनाउने तयारी देउवाले गरेका थिए। तर देउवाले शर्मालाई २०७४ पुस २५ गते प्रवक्ताको जिम्मेवारी सुम्पिएका थिए। 

प्रवक्ता बनेपछि शर्मा सभापति देउवाको 'किचन क्याबिनेट'सम्म पुग्न सफल भए। पार्टीको प्रचार विभाग प्रमुखसमेत बनाइएका शर्मा देउवाले विवादित अभिव्यक्ति दिनासाथ त्यसको प्रतिरक्षा गरिहाल्थे। एक हिसाबमा देउवालाई शर्माले सहयोग गरेका पनि थिए।

तर, शर्माका पछिल्ला गतिविधि र उनको भूमिकाप्रति देउवा सन्तुष्ट थिएनन्। र, केही महिनायता शर्मा देउवाको ‘कोर’ टिमबाट किनारा लागेको अवस्था थियो। देउवाको ‘कोर’ टिमबाट भइरहेको अविश्वास र १४औं महाधिवेशनमा महामन्त्रीमा टिकट पाउने सम्भावना क्षीण देखेपछि शर्माले एकल उम्मेदवारी घोषणा गरेर बूढानीलकण्ठको कम्पाउन्ड बाहिर निस्किएको संकेत गरेका छन्।  


corrent noodles
Metro Mart

बीपी संग्रहालयमा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा कार्यक्रममा विश्वप्रकाश।

कांग्रेस संस्थापन समूहबाट बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरू महामन्त्रीका आकांक्षी छन्। महामन्त्रीका आकांक्षी धेरै हुँदा आफ्नो सम्भावना कमजोर देखेका शर्मा बूढानीलकण्ठको घेराबाहिर आएर आफ्नो 'ग्राउन्ड' बनाउने प्रयासमा लागेको विश्लेषण भइरहेका छन्। 

देउवा निकट एक नेता शर्मा पछिल्लो समय देउवा टिमबाट किनारा लाग्दै गएको दाबी गर्छन्। ‘महामन्त्रीमा मेरो पनि दाबी छ। हामी लामो समययता शेरबहादुर दाइलाई सघाउँदै आएका छौं,’ संस्थापन समूहबाट महामन्त्रीका आकांक्षीसमेत रहेका ती नेताले भने, 'विश्वजी पछिल्लो समय टिमबाट किनारा लाग्दै आउनुभएको छ। उहाँको उम्मेदवारी घोषणाले हामी सन्तुष्ट हुनुपर्ने कुनै कारण छैन।’

विगतमा झापाको राजनीतिमा कृष्ण सिटौलाले पेल्दा नजिकिनु र अहिले आफूले रोजेको पदमा टिकट पाउने सम्भावना क्षीण बनेपछि बाहिरिनुलाई आश्चर्य मान्न नहुने अर्का एक नेताको टिप्पणी छ। ‘हिजो झापामा सिटौलाले पेलेपछि उहाँ हामीसँग नजिक हुनुभएको हो। केन्द्रीय सदस्य बन्नुभो। प्रवक्ता बन्नुभयो। प्रचार विभागको प्रमुख पनि बन्नुभयो। अब यताबाट मैले खोजेको पदमा लड्न पाउँदिनँ भन्ने संकेत पाएपछि छोड्न खोज्नुभएको हो,’ ती नेताले भने, ‘यसलाई हामीले आश्चर्यका रूपमा लिएका छैनौं।’ 

बार्गेनिङ टुल्स

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुअघि शर्माले प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेका थिए। भेटमा शर्माले महामन्त्रीमा लड्ने योजना बनाएको र उम्मेदवारी घोषणा गर्न लागेको जानकारी गराए। 'हाम्रो टिम महाधिवेशनको तीन दिनअघि घोषणा होला। त्यतिबेला प्रचार गर्नसमेत समय अभाव हुनेछ। मैले अहिले नै उम्मेदवारी घोषणा गरेँ भने मेरो मात्र होइन, तपाईंको समेत प्रचार हुनेछ। त्यसैले म महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु,' प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शर्माले देउवासँग भनेका थिए। देउवाले ठोस जवाफ दिएनन्। 'हुन्छ, हुन्छ गर न त गर,' देउवानिकट नेताले भनेका छन्। 

पार्टीको प्रचार विभाग प्रमुखसमेत बनेका शर्मा देउवाले विवादित अभिव्यक्ति दिनासाथ त्यसको प्रतिरक्षा गरिहाल्थे। एक हिसाबमा देउवालाई शर्माले सहयोग गरेका पनि थिए।

देउवालाई भेटेर आफ्नो निर्णय सुनाएको केही दिनपछि नै शर्माले उम्मेदवारी घोषणा गरिहाले। संस्थापन समूहको महाधिवेशन केन्द्रित टिम बनिनसक्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर उनले ‘बार्गेनिङ’ गर्न खोजेको देउवा निकट नेताहरूको बुझाइ छ। यसलाई अर्थ्याउँदै देउवाको 'कोर टिम'का एक सदस्य भन्छन्, ‘अहिले नै उहाँको उम्मेदवारी घोषणा हुनु भनेको गाडी छुट्ला कि भनेर टोपी सिटमा राखेसरह हो। नोटिस हुनुपर्ने ठाँउमा भइसकेको छ।’ 

संस्थापन समूहमै ‘बार्गेनिङ’ थालेका शर्मा देउवा समूहबाटै अलग भएर सभापतिका लागि तयारी गरिरहेका विमलेन्द्र निधिसँग नजिकिएका छन्। महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको भोलिपल्टै शर्मा निधिसँगै देखिएका थिए। निधिपत्नी अनामिकाले सार्वजनिक गरेको तस्बिरमा शर्मा निधिसँगै पूजा गरिरहेका देखिन्छन्। 


आफ्नो टिम बनाउने तयारीमा रहेका निधिसँग शर्माको सामीप्यताको सतहीभन्दा केही भिन्न अर्थ छ। त्यो हो- शर्माको बार्गेनिङ टुल्स अभ्यास। देउवालाई निधि देखाउने र निधिलाई देउवा देखाएर 'बार्गेनिङ' गर्ने रणनीति शर्माले अख्तियार गरेको देखिन्छ। 

'संस्थापन समूहमा सिनियर कार्यकर्ता लेभलमा राम्रो पकड भएका नेताहरू महामन्त्रीका आकांक्षी छन्। त्यसलाई हेरेर शर्माजीले पहिले नै उम्मेदवारी घोषणा गर्नुभएको जस्तो देखिन्छ। उक्त पदमा अरूले दाबेदारी नगरून् र आफ्नो उम्मेदवारी सुरक्षित होस्,’ राजनीतिक विश्लेषक डा विष्णु दाहाल भन्छन्, ‘आफूभन्दा सिनियर नेताले सोही पदमा दाबी गरिरहेको अवस्थामा पहिले नै उम्मेदवारी घोषणा प्रस्तुत गर्दा सुरक्षित भइन्छ कि भन्ने अभिप्राय हुन सक्छ।’ 

गगनशैलीमा विश्वप्रकाश

गगनले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको ठिक १० दिनपछि प्रवक्ता विश्वप्रकाशले पनि सोही पदका लागि उम्मेदवारी घोषणा गरे। कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघमा आफू अध्यक्ष हुँदा उपाध्यक्ष रहेका गगन थापाकै प्रतिस्पर्धीका रूपमा शर्माले उभ्याएका छन्। हुन त उनीहरू दुई जना मात्र महामन्त्रीका उम्मेदवार होइनन्, प्रदीप पौडेलले पनि उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन्। अरु नामहरु बिस्तारै सतहमा आउलान्।

कांग्रेसमा दुई जना निर्वाचित महामन्त्री हुने व्यवस्था विधानमा छ।

बूढानीलकण्ठको कम्पाउन्डबाट बाहिर निस्कनु, एकल उम्मेदवारी घोषणा गर्नु र निधिसँग समीप्यता बढाउनुले शर्मा गगनकै शैलीमा अघि बढेको संकेत गर्छ। गगन १२औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा केन्द्रीय सदस्यमा सर्वाधिक मत पाएर सानेपा इन्ट्री गरेका गगन १३औं महाविधेशनमा महामन्त्रीको उम्मेदवार बने। तत्कालीन संस्थापन समूहमा रहेका महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री लड्ने घोषणा गरे। त्यो पनि छुट्टै समूहबाट। कृष्णप्रसाद सिटौला नेतृत्वको प्यानलबाट महामन्त्री लडेका गगनले ससुरा अर्जुननसिंह केसी र डा. शशांक कोइरालासँग प्रतिस्पर्धा गरेका थिए। त्यो गगनले मोलेको चुनौती थियो। तर, त्यतिबेला चुनौती मोलेर गगनले १४ औं महाधिवेशनमा पुनः सोही पदका लागि बलियो 'ग्राउन्ड' बनाएका छन्। 


संस्थापन इतर समूहबाट सभापतिको साझा उम्मेदवार बनाउने र त्यही प्यानलबाट महामन्त्री लड्ने तयारी गगनको छ। यसअघि पनि प्रतिस्पर्धामा उत्रिएको अनुभव र कार्यकर्ताबीच लोकप्रियताका कारण इतर समूहमा एउटा मात्रै प्यानल बनेको अवस्थामा गगनको दाबेदारी बलियो भएको कांग्रेस नेताहरू नै बताउँछन्। 

संस्थापन इतर समूहमा महामन्त्रीका एक्ला आकांक्षी भने गगन होइनन्। संस्थापन इतर समूहबाट साझा प्यानल बनाउने र त्यसमा महामन्त्रीको उम्मेदवार आफू हुने कसरत गगनले गरिरहेका छन्।

गगनले १३औं महाधिवेशनमा जे गरे, जस्तो चुनौती मोलेका थिए, त्यसरी नै अघि बढ्ने रणनीति शर्माले पनि बनाएका छन्। त्यसैले उनले यसपालि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन्। संस्थापन समूहबाट महामन्त्रीको उम्मेदवार हुन नसक्दा शर्मा निधिको टिमबाट लड्न सक्छन्। त्यस्तो अवस्थामा परिणाम कस्तो आउँछ भन्ने सकिन्न। त्यस्तो अवस्थामा शर्माले गगनझैं १५औं महाधिवेशनका लागि ग्राउन्ड तयार गर्ने नीति लिने छन्। 

‘संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवार नपाएको अवस्थामा अन्य कुनै टिमबाट लड्ने र १५औं महाधिवेशनमा महामन्त्रीमा जित्ने गरी ग्राउन्ड बनाउने रणनीति शर्माले लिने देखिएको छ,’ विश्लेषक डा दाहाल भन्छन्। यस्तो रणनीति लिँदा १५औं महाधिवेशनमा शर्मा महामन्त्रीको बलियो दाबेदार बन्न सक्छन्। 

चुनावमा हार, नेताबाट पुरस्कार! 

शर्मा त्यस्ता नेता हुन्, जो जनताबाट अनुमोदित भएका छैनन्। १२औं महाधिवेशनमा उनी गृहजिल्ला झापा  सभापतिको उम्मेदवार बनेका थिए। तर, उनी उद्धव थापासँग पराजित बन्न पुगे। 

झापा सभापतिमा हारेपछि उनले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेर फिर्ता लिएका थिए। तत्कालीन सभापति सुशील कोइरालाले महाधिवेशनमा पराजित अधिकांश नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनीत गरे। तर, शर्मा त्यो सूचीमा परेनन्। २०६७ पछि उनी देउवा क्याम्पमा पुगेका थिए। 

राजनीतिक विश्लेषक डा विष्णु दाहाल भन्छन्, ‘आफूभन्दा सिनियर नेताले सोही पदमा दाबी गरिरहेको अवस्थामा पहिले नै उम्मेदवारी घोषणा प्रस्तुत गर्दा सुरक्षित भइन्छ कि भन्ने अभिप्राय हुन सक्छ।’ 

हुन त २०५९ सालमा शर्मा नेविसंघको अध्यक्ष हुँदा देउवाले नेपाली कांग्रेस (प्रजातान्त्रिक)को विद्यार्थी संगठनलाई सघाउन भनेका थिए। त्यो बेला उनी प्रजातान्त्रिकको विद्यार्थी संगठनतिर त खुलेनन्, तर उपाध्यक्ष गगन थापालाई नेविसंघको कार्यवाहक सभापति बनाएर उनी सम्पर्कविहीन बनेको त्यति बेला नेविसंघको कार्यसमितिमा रहेर काम गरेका एक नेता बताउँछन्।  


नेता कृष्ण सिटौलासँगको टकरावका कारण २०६७ सालमा देउवा समूहमा पुगेका थिए। उनी २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा देउवाको कोटाबाट टिकट पाए। उनी पराजित बन्न पुगे। १३औं महाधिवेशनमा देउवा समूहबाटै उनले केन्द्रीय सदस्य जितेका थिए। देउवाको फेरो समातेर २५ जना केन्द्रीय सदस्य निर्वाचित हुँदा शर्मा १६औं नम्बरमा आएका थिए। त्यसपछि उनले २०७४ सालमा पुनः टिकट पाए। तर, उक्त निर्वाचनमा समेत शर्मा जनताबाट अनुमोदित हुन सकेनन्।

आमचुनावमा हार चाखिरहेका शर्मालाई देउवाले प्रवक्ताको जिम्मेवारी दिएर पुरस्कृत गरिदिए। २०७४ को निर्वाचनमा पार्टीको पराजयपछि देउवाको आलोचना गर्ने र पार्टी सुदृढीकरणका लागि देउवाले नेतृत्व छोड्नुपर्ने आवाज उठाउने युवा नेताहरुको समूहमा शर्मा पनि थिए। तर, देउवाले प्रवक्ताको जिम्मेवारी दिएपछि त्यो समूहबाट अलग भए र देउवाका खास 'प्रतिरक्षक'का रुपमा देखिए। सोही कारण देउवाले प्रचार विभागको जिम्मेवारीसमेत उनै शर्मालाई दिएका थिए। 

महामन्त्रीको एकल उम्मेदवारी घोषणा गरेर मैदान उत्रिएका शर्मालाई महामन्त्रीका रुपमा कांग्रेस नेता–कार्यकर्ताले अनुमोदित गर्छन् वा उनको उम्मेदवारी १५औं महाधिवेशनको ग्राउन्ड बनाउनेमै केन्द्रित हुन्छ? यसका लागि महाधिवेशनकै नतिजा कुर्नुपर्ने भएको छ। 

प्रकाशित: Sep 13, 2021| 21:03 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...