काठमाडौं– संयुक्त राज्य अमेरिकी अधिकारीहरुले पछिल्लो दुई महिनाको अवधिमा दक्षिण पूर्वी एसियाली मुलुकको भ्रमण गरेको दुई सातापछि चिनियाँ विदेशमन्त्री वाङ यी पनि यही क्षेत्रमा एक साताको भ्रमणका लागि निस्किएका छन्।
उपराष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि आफ्नो दोस्रो विदेश भ्रमणको रुपमा कमला ह्यारिसले दक्षिण पूर्वी मुलुकलाई रोजेकी हुन्। त्यसअघि अमेरिकी उपविदेशमन्त्री विन्डे शेरमानले इण्डोनेसिया, कम्बोडिया र थाइल्यान्डको भ्रमण गरेका थिए। त्यसैगरी रक्षामन्त्री लोइड अस्टिनले सिंगापुर, भियतनाम र फिलिपिन्स भ्रमण गरेका थिए।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि भारतसहित आसियान राष्ट्रको भ्रमण गरेका थिए। दुई महिनाको अवधिमा अमेरिकी उपराष्ट्रपति ह्यारिसको भ्रमणलाई उच्चस्तरीय भ्रमणको संज्ञा दिइयो। उनले दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको सुरक्षा र रक्षाका साथै जलवायु परिवर्तन, साइबर सुरक्षा, आपूर्ति श्रृंखला र स्वास्थ्य सुरक्षामा अमेरिकाले आफ्नो साझेदारीलाई बढाउन चाहेको बताए।
माथि उल्लेखित भ्रमणहरुले अमेरिका दक्षिण एसियाली राष्ट्रहरुमा आफ्नो सम्पर्क विस्तार गर्नुका साथै विभिन्न मुद्दाहरुमा आफ्नो सहकार्यलाई बढाउन चाहेको स्पष्ट संकेत भएको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरुले बताएका छन्।
अमेरिकी अधिकारीहरुको भ्रमण सकिएको केही समयमा नै चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार दक्षिण पूर्वी एसियाली राष्ट्रहरुको एक साता लामो भ्रमणमा निस्किएका छन्। चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले विदेशमन्त्री वाङले आफ्नो भ्रमणको पहिलो गन्तव्य भियतनामलाई बनाएर राम्रो सुरुवात गरेको जनाएको छ।
उनले एक सातामा चार मुलु्कको भ्रमण गर्ने भएका छन्। उनले भियतनाम, कम्बोडिया, सिंगापुर र दक्षिण कोरियाको भ्रमण गर्ने भएका हुन्। चिनियाँ विज्ञहरुले यस क्षेत्रमा आर्थिक र व्यापारका मुद्दाहरुमा भइरहेको सहकार्य विस्तारका लागि यो भ्रमण फलदायी हुने अपेक्षा गरिएको जनाएका छन्।
यससँगै यी मुलुकहरुमा पारस्परिक राजनीतिक विश्वास र यस क्षेत्रको सुरक्षाका विषयमा साझा धारणा बनाउनका लागि भ्रमण आवश्यक रहेको उनीहरुले बताएका छन्।
अमेरिकी उपराष्ट्रपति ह्यारिसले चीनविरुद्ध आक्रोश व्यक्त गर्दै फर्किएको दुई सातापछि भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणले कूटनीतिक सम्बन्ध र बाह्य शक्तिबाट हुने हस्तक्षेप र प्रभावलाई रोक्न सहयोग गर्ने बताइएको छ। गत अगस्टमा ह्यारिसले भियतनाम र सिंगापुर भ्रमण गरेका थिए भने जुन र जुलाईमा चिनियाँ उपविदेशमन्त्रीले कम्बोडिया र दक्षिण कोरिया देखिएको थियो।
चीन र १० वटा आसियन राष्ट्रहरुबीचको ३० औं संवाद सम्बन्धको अवसरमा पछिल्लो तीन दशकमा विभिन्न अप्ठ्याराहरुका बीच पनि चीन र आसियन राष्ट्रहरुबीचको सम्बन्ध निकै निकट र बलियो भएर गएको ग्लोबल टाइम्सले जनाएको छ।
उनले आफ्नो भ्रमण चार छिमेकी साझेदार मुलुकहरुको निमन्त्रणामा भएको उल्लेख गर्दै विभिन्न क्षेत्रमा सहकार्य गर्नका लागिरहेको बताएका छन्। चाइनिज एसोसिएसन अफ साउथइस्ट एसियन नेशनका प्रमुखसमेत रहेका सियामेन विश्वविद्यालयका प्रोफेसर जुआङ गोउटुले चिनियाँ विदेशमन्त्रीको दक्षिण पूर्वी एसियाली राष्ट्रको भ्रमण बढ्दो अमेरिकी प्रभावलाई काउन्टर गर्नका लागि केन्द्रित नभएको स्पष्ट पारेका छन्।
अमेरिकाले चीनलाई काउन्टर गर्नका लागि क्वाड (अमेरिका, अस्ट्रेलिया, भारत र जापान) समूह गठन गर्दै विभिन्न रणनीतिहरु बनाइरहेको छ। यसअघि जी७ राष्ट्रहरुको बैठकले पनि चिनियाँ महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभलाई काउन्टर गर्नका लागि पूर्वाधार विकास परियोजना बिल्ड ब्याक बेटर वर्ल्ड अवधारणा अघि सारेको थियो।