तनहुँ- तनहुँको भीमाद नगरपालिका–६, भिमाद बजारका ४१ घरपरिवार पहिरोको उच्च जोखिममा छन्।सेती नदीको कटानले निरन्तर पहिरो झरिरहेको र पहिरोको व्यवस्थापनका लागि रकम पर्याप्त नहुँदा जोखिममा परेका हुन्। पहिरोले भिमाद बजारको कुमारचोकमा सबैभन्दा धेरै क्षति पुगेको छ।
बजार जोगाउनलाई ठूलो बजेट आवश्यक पर्ने भएकाले स्थानीय स्रोतले सम्भव नहुँदा समस्या परेको भिमाद नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले जानकारी दिनु भयो।
‘पहिरो नियन्त्रणका लागि २० करोड रुपियाँ आवश्यक देखिन्छ। नगरपालिकाको आन्तरिक स्रोतबाट सम्भव नभएकाले संघीय तथा प्रदेश सरकारलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा पनि पर्याप्त बजेट निकासा भएको छैन,’ प्रमुख प्रशासकीय अधिकृत थापाले भने।
नगरपालिकाले पाँच लाख रुपियाँ विनियोजन गरेर २० करोड रुपियाँलागत लाग्ने विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार पारी गण्डकी प्रदेश सरकारलाई पठाएकामा प्रदेशले प्रतिवेदन परिमार्जन गरी १६ करोड रुपियाँको लागत इस्टिमेट तयार गरी ३० लाख रुपियाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले जनाए।
‘गत वर्ष एक करोड रुपियाँ प्रदेश सरकारले पठाएको भए पनि कोभिडका कारण रकम निकासा नहुँदा टेन्डर हुन नसक्दा काम अघि बढ्न सकेन,’ उनले भने, ‘अहिले पनि थोरै रकम छुट्याइएकाले काम अघि बढाउन कठिनाइ भएको छ,’।
नदी कटानका लागि तटबन्धन गर्न जरुरी रहेको गण्डकी प्रदेश सरकारलाई जानकारी दिइएको भए पनि आवश्यक बजेटको व्यवस्था नहुँदा वर्सेनी जोखिम बढ्दै गएको भिमाद नगरपालिका–६ का वडाध्यक्ष श्यामसुन्दर जोशीले बताए । ‘प्रदेश र संघीय सरकारले चासो कम दिँदा बजार क्षेत्रकै भविष्य संकटमा छ,’ भिमाद बजारको कुमारचोकका ४१ घर पूर्ण जोखिममा रहेको उनले बताए ।
वडाध्यक्ष जोशीले डीपीआरसमेत भइसकेकाले तटबन्धनको काम तत्काल गर्न आवश्यक रहेको बताए । तटबन्धको काम नहुँदा अन्य नदीले निरन्तर कटान गरिरहेकाले थप एक सय घर पनि जोखिममा पर्दै जान थालेको जोशीले बताए। २०६१ सालमा सुरु भएको नदी कटान नियन्त्रणमा चासो नदिँदा हरेक वर्ष विस्थापित हुनेको संख्या बढ्दो रहेको उनले बताए।
यहाँका कैयौं परिवार वर्षायाममा दिउँसो भिमाद बजारमा बसे पनि रात परेपछि सुरक्षित स्थान खोज्दै बजारमाथिको वस्तीमा जाने गरेका छन्। पानी पर्नेबित्तिकै नदीको बहाव बढ्छ जसले गर्दा जमिन कटान गर्दा किनारामा रहेका घरको डिल खन्न सुरु गर्ने गरेको पीडितले बताएका छन्।