काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले एकपछि अर्को मन्त्रालयका सहसचिवहरुको जिम्मेवारी अदलवदल गरिरहेका छन्। उनले पछिल्लो पटक मन्त्रालयका सहसचिव दीर्घ राज मैनालीको सरुवा गरेका छन्। मन्त्रालयको वित्तीय क्षेत्र तथा संस्थान समन्वय महाशाखाका प्रमुख मैनालीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र सरुवा गर्दै उनको ठाउँमा रमेश केसीलाई ल्याएका हुन्।
तालिम केन्द्रका तत्कालीन प्रमुख बाबुराम भण्डारीको ऊर्जा मन्त्रालयमा सरुवा भएसँगै रिक्त स्थानमा मैनालीलाई पठाइएको हो।
यसअघि मन्त्री शर्माले मन्त्रालयका तीन सहसचिवको जिम्मेवारी बाँडफाँड गरेका थिए। यसअघि सरुवा भएका सहसचिवत्रय शोभाकान्त पौडेल, भूपाल बराल र नारायण सापकोटालाई मन्त्रालय तथा अन्तर्गतका विभागीय जिम्मेवारी दिइएको थियो।
सहसचिव शोभाकान्त पौडेललाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा पठाइएको थियो भने भूपाल बराल मन्त्रालयकै बजेट महाशाखा प्रमुख र भन्सार विभागको महानिर्देशकमा नारायण सापकोटालाई खटाइएको हो।
यो सुरुवाअघि आराबिमा झक्क प्रसाद आचार्य, बजेट महाशाखामा सुमन शर्मा र भन्सार विभागमा यमलाल भुसाल रहेका थिए। प्रदेश तहमा जान ठिक्क परेका उनीहरू तीनै जनालाई मन्त्रालयमा तानिएको थियो।