काठमाडौं– कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण नेपालमा खेल गतिविधि ठप्प छन्। लकडाउनका कारण मानिसहरु घरमै बस्न बाध्य छन्।
अत्यावश्यक कामका लागि बाहिर जानु परे पनि सामाजिक दूरीको पालना गर्दै काम गर्नुपर्ने अवस्था छ। यसकारण नेपाली खेललाई दीर्घकालीन रुपमा नकारात्मक असर परिरहेको छ।
यो असर कम गर्न कोरिया, जर्मनी लगायतका देशले जस्तै बन्द रंगशालामा खेलका गतिविधि अघि बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लागेका छन्।
राजधानीमा आज भएको कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल छिटै खेल फर्काउनु पर्ने महसुस गरेको बताउँछन्। भन्छन्, “केही हप्ताअघि कोरोनाका बिरामी नबढेको अवस्था थियो। त्यसबेला अब खेलकुदका काम अघि बढाने सोचिरहेका थियौं। फेरि कोरोना संक्रमित बढेकाले काम गर्न सकिएको अवस्था छैन।”
“तर अब छिट्टै खेल सुरु गर्नुपर्ने अवस्था छ। विदेशमा जस्तो खेलाडीलाई कोरोना परीक्षण गराएर खेल अघि बढाउन सकिन्छ। यदि खेल पुनः सुचारु भएका खेलसँग जोडिएका पदाधिकारी, खेलाडी र पत्रकारलाई पनि जीविका सुरक्षित गर्न सकिन्छ,” उनले भने।
सदस्य सचिवको कुरामा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि सहमति जनाएका छन्। उनी पनि बन्द रंगशालमै भए पनि खेल फर्किनुपर्नेमा जोड दिन्छन्।
भन्छन्, “सकिन्छ भने बिना दर्शकको खेल सुचारु चाँडै गरौं। राखेप र सबै फुटबलकर्मीसँग यो मेरो अनुरोध छ। यो वर्षको लिग छिट्टै सक्यौं भने अर्को वर्षमा लिग सञ्चालन गर्न सहज हुनेछ।”
एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले अब पहिलेजस्तो कागजी झन्झटको समय गएको पनि बताएका छन्। यसले खेललाई अघि बढाउन सहज गर्नेछ।
एन्फा अध्यक्षले क्लबदेखि कोच र रेफ्रीको रजिस्टरसम्म अनलाइनबाटै गर्ने बताएका छन्। “अब अनलाइनबाट क्लब दर्ता गर्ने व्यवस्था हुनेछ। त्यस्तै कोच र रेफ्रीले पनि अनलाइनबाटै दर्ता गर्ने प्रावधान विकास गर्नेछौं। यसको प्रशिक्षण केही हप्ताबाटै सुरु गरिनेछ। यसले सबैलाई सहयोग गर्नेछ भन्ने लागेको छ,” कर्माले भने।
खेल सुरु गर्दा नयाँ योजनाका साथ गर्नुपर्ने राखेपका सदस्य सचिव सिलवालको भनाइ छ। उनी अब आगामी १० वर्षको योजना बनाएर फुटबल विकास गर्नुपर्ने बताउँछन्।
“विदेशबाट आउने खेलाडी पनि उत्कृष्ट छनोट गरेर ल्याउनुपर्छ। त्यस्तै, हाम्रा देशका खेलाडीलाई पनि राम्रो लिग खेल्नका लागि तयार गर्नुपर्छ। हामीले जति फुटबलको विकास गरिरहेका छौं, हाम्रा प्रतिस्पर्धीले पनि त्यही अनुरुप तयार भइरहेका छन्,” सिलवालले भने, “खेलमा भूगोल ठूलो भएर हुँदैन। मनोवल हुनुपर्छ। सबै लागेमा नेपाल राम्रो टिम बन्न सक्छ।”
सदस्य सचिव सिलवालले नेपालमा संक्रमण नभएको जिल्लाबाट (ग्रिन जोन) खेलकुदलाई अगाडि ल्याउन सकिने बताएका छन्। उनले ग्रिन जोन भएका जिल्लामा खेल गर्दा कोरोनाको जोखिम कम हुने भन्दै यसरी खेल गतिविधि अघि बढाउन लागिपरेको बताए।
सिलवालले भ्यालीबाहिरका क्लबलाई पनि लिगमा समेटेर लैजान यसले सहयोग गर्ने बताए। “खेलमा क्लबहरुलाई विभिन्न क्लासमा विभाजन गरेर खेलाउनु पर्ने भएको छ। यसले प्रतिस्पर्धा बढाउँछ। भ्याली बाहिरका क्लबलाई पनि लिगमा समावेश गराउन सक्नु पर्ने चुनौती हामीसामू छ,” सचिव सिलवालले भने।
एन्फा अध्यक्षले कर्माले फुटबलको विकासका लागि दशरथ रंगशालाको मैदान क्वारेन्टिन नबनाउने माग गरेका छन्। उनले नेपालमा एकमात्र रंगशाला रहेको र यसको संरक्षण गर्नुपर्ने बताएका थिए।
उनले भने, “यदि अहिले त्यहाँ पलाएको घाँस मर्यो भने अर्को समस्या पर्छ। त्यो घाँस उमार्न धेरै मेहेनत गरेका छौं। त्यसैले हामीले विद्यालय र कलेजमा क्वारेन्टिन राख्न सक्छौं। यसका लागि एन्फाले पहल गर्नेछ। तर, मैदानमा क्वारेन्टिन नराखौं। हामी यसलाई अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन चाहान्छौं।”