काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षको भेला बोलाएका छन्। आज सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालयमा भेला बोलाइएको हो।
सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच नै प्रहरी र प्रशासनको बलमा वडा अधिवेशन गरिएको भन्दै पौडेल पक्षले विरोध गरिहेको छ। यसैबारे देउवालाई खबरदारी गर्न पौडेल पक्षले भेला बोलाएको बताइएको छ।
अन्य जिल्लामा पनि क्रियाशील सदस्यताको विवाद छ। विवाद देखिएका जिल्लामा तत्कालै विवाद हल गर्न भेला गरेर छलफल गर्न लागिएको पौडेलको सचिवालयले जनाएको छ।
सभापति देउवा पक्ष कमजोर भएका जिल्लामा केन्द्रबाट नै क्रियाशील सदस्यको नाम राख्ने गरिएको भन्दै पौडेल पक्षले विरोध गरेको छ। जिल्लाबाट सिफारिस गरेर पठाइएका नाम हटाएर केन्द्रले नयाँ नाम थपेर क्रियाशीलको सूची सार्वजनिक गरेको आरोप उक्त पक्षको छ।
५६ जिल्लाका वडाहरूमा कांग्रेस अधिवेशन सम्पन्न भएको छ। बाँकी जिल्लामा अधिवेशन सक्न ढिलाइ गर्दा गाउँ र नगर अधिवेशन प्रभावित भएको छ। अब गाउँ र नगर अधिवेशन असोज ९ गतेलाई सारिएको छ।
१४ औं महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।