मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'अनि लाग्यो, यो देश मेरो होइन रहेछ'

आदर्शका लागि कमेडी ‘फ्रस्टेसन’ नै हो। उनको जीवनको ‘ट्रयाजेडी’ नै उनको कमेडीको स्राेत हो। ‘जति ट्रयाजिक छ तपाईंको लाइफ, त्यति नै कमेडी आउने हो,’ उनी भन्छन्, ‘जति दुःख छ नि, त्यति नै कन्टेन्ट क्रिएट गर्न मिल्छ।'
 |  शनिबार, जेठ ८, २०७८
nespernesper

अनिल यादव

अनिल यादव

शनिबार, जेठ ८, २०७८

triton college

‘म मधेसी हुँ क्या। अनि यही नै मेरो लाइफको मजाक हो!’ कमेडी च्याम्पियनको पहिलो सिजनमा यही परिचयसहित मञ्चमा देखा परेका अनुहार हुन्, आदर्शकुमार मिश्रा। 

स्टेजमै उनी भन्थे, काठमाडौंमा हरेक मधेसीलाई एउटै तनाव हुन्छ– ‘नेपाली कसरी हुने।’ झण्डा नै बोकेर हिँड्नुपर्ने हो कि! ब्याक अफ इन्डिया नै लेख्नुपर्ने हो कि! या, निधारमा नेपाली नागरिकता नै टाँस्नुपर्ने हो?

आफ्नो कमेडीमा विभेदका अनुभव र अनुभूति घुसाएर प्रस्तुत हुने यी आदर्शका बुबा बाराको जितपुरस्थित नगौल निम्न माध्यमिक विद्यालयका प्रिन्सिपल हुन्। नाम हो, विनोद मिश्रा। विनोद चार वर्षदेखि मिर्गौलाका बिरामी छन्। 

आदर्शकी आमा भारतीय मूलकी हुन्, जो पति प्रिन्सिपल भएकै स्कुलमा पढाउँछिन्। दुई वर्षअघि आदर्श बुबासहित मिर्गाैला प्रत्यारोपणबारे बुझ्न काठमाडौं, महाराजगन्जस्थित टिचिङ अस्पताल पुगेका थिए। त्यतिबेला भारतमा रहेकी आदर्शकी मौसी अर्थात् विनोदकी जेठीसासू मिर्गौला दिन तयार भएकी थिइन्। 

Metro Mart
vianet

विडम्बना! टिचिङ अस्पताल तयार भइदिएन। आदर्शका अनुसार उल्टै हप्काएर पठाइयो– ‘तिमीहरू कहाँ बिहे गर्छौ, त्यो हामीलाई मतलब भएन। नेपालमै बिहे गरेको भए ‘ट्रान्सप्लान्ट’ हुन्थ्यो। इन्डियामा जोसुकै आफन्त भए पनि हामीलाई मतलब हुन्न।’ त्यही दिन हो, विनोदले अस्पतालबाहिर निस्किएपछि आदर्शलाई निराश हुँदै भनेको– ‘छोरा, यो देश मेरो होइन रहेछ।’ अनि, त्यही दिन हो बुबाका रसाएका आँखा देखेर आदर्शलाई पनि मनमनै लागेको– ‘हो, यो देश मेरो होइन रहेछ।’

आदर्शले आफ्नो युट्युबमा राखेको ‘केपी ओली एन्ड नेसनलिज्म’ शीर्षकको भिडियो यतिखेर चर्चामा छ। त्यो भिडियोमा राष्ट्रियताको प्रसंग उठाएका उनले केपी ओलीलाई समर्थन नगर्दा ‘तिम्रो नेता राजेन्द्र महतो, नरेन्द्र मोदी’ भनेर सर्टिफिकेट बाँड्नेहरूलाई कडा प्रहार गरेका छन्। 

‘यो देशको एउटा महत्त्वपूर्ण र ठूलो अस्पताललाई यहाँका अधिकांश नागरिकले कहाँ बिहे गर्छन् भन्ने थाहा छैन भने कसरी नागरिक मान्छ के यो देशले हामीलाई?’ आदर्श आक्रोश पोख्छन्, ‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन। तर केपी ओली प्रधानमन्त्री भएकै कारण दुई पटकसम्म ट्रान्सप्लान्ट भयो। अनि, म नरिसाउने किन?’

बुबाको साथमा आदर्श

पाँच दिनअघि आदर्शले आफ्नो युट्युबमा राखेको ‘केपी ओली एन्ड नेसनलिज्म’ शीर्षकको भिडियो यतिखेर चर्चामा छ। त्यो भिडियोमा राष्ट्रियताको प्रसंग उठाएका उनले केपी ओलीलाई समर्थन नगर्दा ‘तिम्रो नेता राजेन्द्र महतो, नरेन्द्र मोदी’ भनेर सर्टिफिकेट बाँड्नेहरूलाई कडा प्रहार गरेका छन्। 

हरेक पटक आदर्श किड्नी बिरामीको प्रसंग उठ्दा केपी ओलीको नाम लिन छुटाउँदैनन्। र, आलोचकहरू किन सधैं केपी ओलीको नाम जोड्नुपर्‍यो भनेर उनलाई प्रश्न गर्न छुटाउँदैनन्। 

‘किन नलिने क्या केपी ओलीको नाम?,’ यसमा आदर्शको आफ्नै अनुभूतिसहितको तर्क छ, ‘मैले बुबाको मिर्गौला डायलासिस गराउन जाँदा जसरी टायर निस्किएको थोत्रे ह्विलचेयरमा राखेर धकेल्नुपर्छ नि, केपी ओलीलाई कहिल्यै पनि त्यसरी धकेल्नु पर्दैन। त्यसरी धकेल्नु परोस् भनेर कामना गरेको पनि होइन। तर, ठोकुवा गर्छु, उहाँ प्रधानमन्त्री नभएको भए सायद अहिलेसम्म बाँचिरहनुभएको हुन्थेन। किनभने एउटा आमनेपालीले दुइचोटि मिर्गौला फेर्न सक्दैन। त्यति पैसा हुँदैन, स्राेत हुँदैन। अनि, कुन बोटमा फलिरहेका छन् ती मिर्गौलाहरू जुन हामीले पाइरहेका छैनौं? तर केपी ओलीले त्यति सजिलै पाइरहेका छन्।’ 

०००

बारा, जितपुरका आदर्श बुबालाई हप्ताको दुईपटक मिर्गौलाको डायलासिस गराउन वीरगन्जको नारायणी अस्पताल लिएर जान्छन्। अस्पतालको तेस्राे तल्लामा छ, डायलासिस गराउने कोठा। साताअघि जब उनी सधैंझैं बुबालाई डायलसिस गराउन पुगे, अस्पतालले एउटा राम्रो ह्विलचेयर पनि व्यवस्थापन नगरेको देखेर कन्पारो तात्यो। उनले अस्पताल व्यवस्थापनसँग प्रश्न गरे– ‘एउटा ह्विलचेयर पनि किन व्यवस्थापन गर्न नसकेको हो?’ जवाफमा अस्पताल व्यवस्थापनका एक सदस्यले भने, ‘मसँग हाई पिचमा कुरा नगर्नुस्, म यहाँको स्टाफ हुँ। यो अस्पताल मेरो बाउको हो, सरकारको पैसाले चलेको होइन।’

त्यसपछि टायर निस्किएको थोत्रे ह्विलचेयरमा राखेर बुबालाई तीन तलामाथि पुर्‍याउँदा आउने ‘स्याँ स्याँ’ आवाजसहितको भिडियो युट्युबमा सार्वजनिक गरेर उनले अस्पतालको लापरबाहीलाई नंगाएन मात्रै, टिम जितपुर र सानो पाइलाको सहयोगमा एउटा नयाँ ह्विलचेयर किनेर अस्पताललाई सहयोग पनि गरिदिए। 
 
‘मैले जे भोगें, मेरो बाबाले जे भोग्नुभयो, त्यो नियति अरुले भोग्न नपरोस् भनेर नयाँ ह्विलचेयर लगेर चुपचाप अस्पतालको नर्सलाई थमाइदियाैं’ आदर्शले सुनाए, ‘यो ह्विलचेयर कसैलाई नदिनु, डायलासिसका बिरामीका लागि नै ल्याइदिएको हो, उनीहरूकै निम्ति प्रयोग गर्नु भनेर फर्किएका छौं।’

आदर्शका अनुसार यो अस्पतालमा सिँढी छैन, र्‍याम्प छ। त्यसैले डायलासिसका बिरामीलाई बाइकमा चढाएर भए पनि तीन तलामाथि लैजान विवश छन्, आफन्त। 

कमेडी च्याम्पियनको स्टेजमा आदर्श

आदर्श सानैदेखि स्कुलमा नाटक गर्थे, सायरी लेख्थे, चुट्किला सुनाउँथे। तर कमेडियन बन्ने लक्ष्य उनले कहिल्यै राखेका थिएनन्। उनी त काठमाडौं सहरमा डाक्टर बन्ने सपना बोकेर आएका थिए। बाआमाको चाहना पनि त्यही थियो। 

प्लस टु पढ्दै गर्दा उनी ‘मिम नेपाल’को फेसबुक पेजमा काम गर्थे। एक लाइनमा जोक लेख्ने राम्रो क्षमता थियो उनीसँग। एक दिन कमेडियन आयुष श्रेष्ठले उनलाई सोधे– ‘स्टोरी टेलर्सको कार्यक्रम हुँदै छ, पर्फम गर्छौ त?’

‘अँ, गर्छु दाइ,’ उनले सहजै स्वीकारे।  त्यसपछि स्टोरी टेलर्सका फाउन्डर प्रशान्त मानन्धरसँग उनको कुरा भयो। ‘प्रशान्त दाइले यति सहज बनाइदिनुभयो कि म पूरा आत्मविश्वासका साथ स्टेजमा प्रस्तुत हुन सकें,’ आदर्श सम्झिन्छन्, ‘साे टंगाल उडमा भएको थियो। मैले त्यो दिन यति आत्मविश्वासका साथ पर्फम गरेको थिएँ कि लाग्थ्यो, टंगाल उड मेरै बाउको हो, मलाई कसैले यहाँबाट निकाल्न सक्दैन। त्यतिबेला ३ सयजना क्राउडको स्ट्यान्डिङ अभिएसन (उठेर सम्मान) पाएको थिएँ मैले।’

आदर्श त्यहाँ पनि ‘म टिपिकल नेपाली हुँ, जो भारतीयजस्तो देखिन्छु, हिन्दी बोल्छु तर म मधेसी हुँ’ भन्दै आफ्नो अनुभूति सुनाएर दर्शक हँसाउन सफल भएका थिए। प्लस टु पढेपछि मात्रै आदर्शलाई ‘अब म डाक्टर बन्दिनँ’ भन्ने महसुस भएको हो। तर, उनमा घरमा भन्ने आँट थिएन। भन्यो भने घरबाट निकालिने डर थियो। त्यही कारण दुई वर्षसम्म त उनी डाक्टरको तयारी गर्दै छु भन्दै लुकीलुकी ‘ओपन माइक’मा पुग्थे, स्ट्यान्डअप कमेडी गर्न। 

‘जब पहिलोपल्ट मैले कमेडी गरेर तीन हजार कमाएँ नि ओपन माइकबाट, त्यसपछि हो मैले बाबालाई फोन गरेर अब म कमेडी गर्छु, कमेडी गरेरै पालिन्छु, घरपरिवार पनि चलाउँछु भनेको,’ आदर्श सम्झन्छन्।  त्यसपछि नै हो उनको डाक्टर बन्ने सपना पनि औपचारिक रुपमा विसर्जन भएको। अनि, कमेडीको नयाँ यात्रामा मोडिएको। 

आदर्श अर्थहीन दुम्सीका कथा सुनाउँदैनन्। उनको व्यंग्य गर्ने शैली, सेन्स अफ ह्युमर अनि तर्कसहित कमेडीका कारण नै कमेडी च्याम्पियनमा धेरैका प्रिय बनेका थिए।  मधेसीले भोग्ने विभेद, काठमाडौंले मधेसीलाई गर्ने व्यवहारप्रति उनले थुप्रै कन्टेन्ट बनाएका छन्। सायद आफ्नै जीवन ‘कमेडी’ भएर होला, उनको कमेडीमा आक्रोश ज्यादा हुन्छ। 

‘हामीलाई समाजसँग जति पनि रिस र आक्रोश हुन्छ, त्यो हामी कमेडीमार्फत पोख्न पाउँछाैं,’ उनी भन्छन्, ‘यदि तपाईं २०–२५ मिनेट निरन्तर रिसाउनुहुन्छ र त्यसलाई सुन्न मान्छे तयार हुन्छन् भने अरु के चाहियो? अनि, यही गरेर पैसा पनि आउँछ भने किन नगर्ने?’

आदर्शलाई धेरैजसो आउने प्रतिक्रिया हो– ‘खाली मधेसकै स्टोरी किन?’ तर, उनी यो प्रश्नमै त्रुटि देख्छन्। ‘यहाँ पहाडको कुनै पनि कुरा भन्दा कसैले पनि पहाडको मुद्दा उठायो भन्दैन किनभने देशकै मुद्दा भइदिन्छ,’ उनी भन्छन्, ‘तर, कसैले मधेसमा बस्ने मान्छेको पीडा, समस्या या मुद्दालाई विषय बनाउँदा यहाँ मधेसको मुद्दा भइदिन्छ। म जहाँ हुर्किएको हुँ, त्यहाँको समस्या, मुद्दा, समाधानलाई आज पनि मधेसको मुद्दा भनेर चिनिन्छ भने त्यो नेपालको मुद्दा कहिल्यै बन्न सक्दैन। सबैले के बुझ्नुपर्‍यो भने मैले मधेसको मुद्दा उठाएकै होइन। मैले त मान्छेको मुद्दा उठाएको हुँ, नेपालीको मुद्दा उठाएको हुँ। ’

उनी थप्छन्, ‘म सानेपामा हुर्किएको भए मैले सानेपाको मुद्दा उठाउँथें होला तर म जितपुरमा हुर्किएँ। अनि म जहाँ हुर्किएँ, जोसँग हुर्किएँ, तिनीहरूकै कथा नसुनाएर कहाँको सुनाउने? म क्यानडामा हुर्किएको भए ढिँडो र गुन्द्रुक खाएको स्टोरी त पक्कै सुनाउँथिनँ होला!’ 

आदर्शका लागि कमेडी ‘फ्रस्टेसन’ नै हो। उनको जीवनको ‘ट्रयाजेडी’ नै उनको कमेडीको स्राेत हो। ‘जति ट्रयाजिक छ तपाईंको लाइफ, त्यति नै कमेडी आउने हो,’ उनी भन्छन्, ‘जति दुःख छ नि, त्यति नै कन्टेन्ट क्रिएट गर्न मिल्छ। जस्तो– मेरो बाबा किड्नीको बिरामी हुनुहुन्छ, त्यसैले मेरो जीवनको सबैभन्दा फन्नी जोकचाहिँ किड्नीसम्बन्धी नै हुन सक्छ। किनभने यसमा त्यति धेरै दुःख छ कि, मान्छेलाई त्यो सुनेर त्यति नै धेरै हाँसो उठ्छ।’

कमेडी च्याम्पियनताका आदर्शले ‘मधेसीलाई नेपाली हुन भगवान् नै हुनुपर्ने रहेछ’ भनेर दिएको प्रस्तुति निकै हिट भएको थियो। उनले त्यतिबेला भनेका थिए, गौतम बुद्ध एउटामात्रै मधेसी हो जसलाई पूरा नेपालले गर्वसाथ नेपाली भनेर मानेको छ। उनको त्यो प्रस्तुति ‘स्क्रिप्टेड’ थिएन। लेख्न अल्छी मान्ने आदर्श प्रायः ‘अन द स्पट’ कन्टेन्ट फुराउँछन्। 

मधेसी भएकै कारण आदर्शले जीवनको गणितमा अनगिन्ती विभेद भोगेका छन्, जुन नमिठो अनुभूति बनेर मनमा गढेको छ। र, तिनै अनुभूति आज उनका दर्शक हँसाउने ‘कन्टेन्ट’ भइरहेका छन्।

काठमाडौंमा लिटिल एन्जल्स कलेज पढ्दाताका भोगेको विभेद उनी अहिले पनि सम्झन्छन्। ‘जति ठूलो कलेज, त्यति धेरै बुलिङ हुने रहेछ। धनी बाउका छोराहरूलाई यो कलेज नै मेरो बाउको जत्थाजस्तो लाग्नेरहेछ,’ आदर्श आफ्नो अनुभव सुनाउँछन्, ‘कलेजमा हिँड्दा पछाडिबाट कसैले धोती भनेर जिस्काउँथ्यो। पछाडि फर्कंदा गायब भइसक्थ्यो। एकचोटि म कक्षाको फ्रन्ट डेस्कमा एउटा खुट्टामाथि अर्को खुट्टा चढाएर बसिरहेको थिएँ। त्यतिबेला त एचओडी टिचरले नै ‘तँ बोरामा बसेर पढ्नेलाई के थाहा, कुर्सीमा कसरी बसिन्छ’ भनेर भन्नुभयो। कसरी बसेर पढें, त्यो थाहा भएन तर त्यही सेमेस्टरमा मैले फिजिक्स टप गरें।’ 

आदर्श यो समाजमा विभेद छैन भनेर टिप्पणी गर्नेहरूसँग सहमत छैनन्। ‘मान्छे भन्छन्, यहाँ विभेद छैन यो तपाईंहरूले आफैं उछालेको मुद्दा हो। तर, म भन्छु यहाँ भेदभाव छ। होला, विभेद हटाउने नाममा यहाँ मधेसका नेताहरूले फाइदा उठाइरहेका छन् तर त्यसमा मेरो बाबाको के दोष, मेरो के दोष?’

०००

आदर्श कमेडी च्याम्पियनबाटै धेरै दर्शकमाझ चिनिएका कमेडियन हुन्। तर, उनी यो कार्यक्रमले नै नेपालको कमेडी ट्रेन्डलाई पछाडि धकेलिरहेको टिप्पणी गर्छन्। ‘कसैले पर्फम गर्दा जज नै बीचमा बोल्छ भने एउटा पर्फमरका लागि त्योभन्दा ठूला अपमान केही पनि होइन,’ उनी भन्छन्, ‘पर्फमरले प्रस्तुति दिइरहेका बेला जसरी मनोज गजुरेल सरले करोड करोड भन्नुहुन्छ, त्यो ठिक होइन। बीचमा कसैले प्याच्च बोलिदिँदा प्रतिस्पर्धीलाई रिस उठ्छ, फ्लोमा डिस्टर्बेन्स आउँछ।’

यही साेमा प्रतिस्पर्धी हुँदा निर्णायक सन्तोष पन्तले गरेको व्यवहार उनी कहिल्यै भुल्दैनन्। ‘सन्तोष पन्तजस्तो रेसिस्ट मान्छे मैले जिन्दगीमा देखेकै छैन। यो लेख्दिनुभए हुन्छ, बरु मलाई मेनस्ट्रिममा करिअर बनाउनु नै छैन,’ उनी आक्रोशमिश्रित भावमा अनुभव सुनाउँछन्, ‘मैले आर्मीको क्यारेक्टर गर्दाखेरी उहाँले अफ द स्क्रिन मेरै अगाडि यसलाई किन यो क्यारेक्टर दिएको, यसलाई पानीपुरी बेच्ने क्यारेक्टर दिनुपर्थ्याे नि भन्नुभएको थियो। त्यतिमात्रै होइन, एकपल्ट त प्रस्तुतिकै क्रममा ‘मधेसमा मंगलसूत्र लाउँछ होला तर नेपालमा तिलहरी हो’ भनेर टिप्पणी गर्नुभएको थियो। मधेस के नेपाल होइन र?’ 

नेपाली फिल्मले मधेसीलाई जसरी देखाइरहेको छ, त्यो चरित्र चित्रणमा पनि उनी सन्तुष्ट सुनिएनन्। ‘यो देशको पहिलो राष्ट्रपति मधेसी हुन्। अनि सिनेमामा चाहिँ मधेसी सधैं कपाल काट्ने, पानीपुरी बेच्ने, भैंसी चराउने नै किन ? यदि तपाईं सधैं यस्तै स्टेरियोटाइप्ड भावना राख्नुहुन्छ भनेर कसरी सर्जक बन्न सक्नुहुन्छ?’ उनी फिल्मकर्मीलाई प्रश्न गर्छन्। 

सन्दीप क्षेत्रीले ‘ह्वाट द फ्लप’ साे चलाउन अनुहारमा कालो मोसो दलेर मिठाइलाल ज्यादबको क्यारेक्टर गरेकोमा पनि उनलाई चित्त बुझेको छैन। ‘सन्दीप दाइले मधेसी देखिनलाई मोसो दल्नै पर्दैन क्या। उनी त्यत्तिकै पनि मधेसी देखिन्छन्,’ आदर्श टिप्पणी गर्छन्। 

०००

देश कोरोना महामारीले आक्रान्त भएका बेला आदर्श यतिखेर आफ्नै गाउँमा कोरोना महामारी नियन्त्रणविरुद्धको अभियानमा जुटिरहेका छन्। टिम जितपुरको नेतृत्व गरिरहेका छन्। सोसल मिडियामार्फत कहिले अक्सिजन त कहिले अन्य अत्यावश्यक सामग्रीका लागि सहयोग मागिरहेका छन्। निरन्तर खाद्यान्न र स्वास्थ्य सामग्री बाँडिरहेका छन्। निम्न वर्गलाई प्याकिङको खाना खुवाइरहेका छन्। 

सँगसँगै कोरानाका नाममा भइरहेका विकृति र विसंगतिविरुद्ध कडा रुपमा उभिइरहेका छन्। अस्पतालदेखि मेयरसम्मलाई नंग्याउन छाडेका छैनन्। नगरपालिकाको बेवारिसे अवस्थामा रहेको एम्बुलेन्समाथि पनि भिडियो कन्टेन्ट बनाएर युट्युबमा सेयर गरिरहेका छन्। 

‘एम्बुलेन्स सर्भिस, बेस्ट प्लेस इन द वर्ल्ड’ शीर्षक राखेर उनले युट्युबमा राखेको भिडियोमा जितपुर नगरपालिकाको बेवारिसे अवस्थाको एम्बुलेन्स देखाउँदै भनेका छन्, ‘मेयर कृष्ण पौडेलले भर्खरै नयाँनयाँ गाडी लिएका छन्। किनभने बाटोमा हिँड्दाखेरी जिउ दुख्यो सरको। मेयरसाब! करुवा तेलले मालिस म गर्दिन्छु, एम्बुलेन्स तपाईं ल्याउनुस्।’

‘मलाई कसैले तिमी फिल्डमा गएको छैनौ, हेरेको छैनाै, हचुवाको तालमा नबोल भन्न सक्दैन यहाँ,’ आदर्श भन्छन्, ‘एउटा नोजलको  पाइपदेखि मास्क, अक्सिजन सिलिन्डरसम्मको ब्ल्याकको रेट मलाई थाहा छ। कुन डाक्टरले बिरामी लिइरहेको छैन यहाँ, त्यो पनि थाहा छ।’

‘अस्ति एउटा बच्चालाई चोट लागेर वीरगन्जको भवानी अस्पताल लगिएको रहेछ। अस्पतालले त्यो बच्चालाई डेढ घण्टा कुराएपछि कोभिड रिपोर्ट लिएर आएपछि मात्रै चेक गर्छु भनेर फर्काइदियो,’ उनी सुनाउँछन्, ‘अर्को एकजना गर्भवती आन्टी हुनुहुन्थ्यो। उहाँलाई पनि पहिले कोभिड रिपोर्ट लिएर आउनु, अनिमात्रै चेक गर्छु भनेर फर्काइदियो। यो कस्तो दादागिरी हो अस्पतालको?’

बच्चाहरूलाई खाना बाँड्दै आदर्श

आदर्शले महामारी नियन्त्रणका क्रममा नेपालका फिल्मकर्मी, सेलिब्रेटीहरूको निष्क्रियतामाथि कडा व्यंग्य गरिरहेका छन्। ‘सबै सेलिब्रेटी, कलाकार र स्टारहरू जो यतिबेला महामारीको समयमा मौन छन्, हामी तिमीहरूलाई हेरिरहेका छौं। यो महामारी सकिनेछ र त्यसपछि पक्कै तिमीहरूको सिनेमा र साेजहरू हुनेछन्। कसम खान्छु! त्यतिबेला हामी तिमीहरूलाई हेर्ने छैनाैं,’ उनले ट्विट गरेका छन्। 

हामीसँगको कुराकानीमा पनि उनले सेलिब्रेटीको मौनतामाथि आक्रोश पोखे। ‘हामीलाई चाहिएको छैन तिमीहरूको ‘चपचप डायरिज, हामीलाई जान्नु छैन यतिखेर तपाईंको घरमा के पाकिरहेको छ, हामीलाई जान्नु छैन तपाईंको भर्जिनिटी कहिले ब्रेक भयो,’ उनी भन्छन्, ‘तपाईंले कमाएको पैसा जनतामा बाँड्नुभएन भन्ने गुनासो पनि होइन। कम्तीमा लाखौं फलोअर भएको आफ्नो पेजमा एउटा अक्सिजन चाहियो, एउटा बेड चाहियो जस्तो पोस्टचाहिँ गर्नुस् भन्ने हो। यदि कोक, सुजिकीजस्ता कम्पनीको विज्ञापन हालेर पैसा कमाउनलाई मात्रै त्यो अकाउन्ट खोलेको हो भने प्लिज बन्द गर्दिँदा हुन्छ। बरु चाहिएन हामीलाई यस्ता खिया लागेका गहनाहरू।’


प्रकाशित: May 22, 2021| 23:45 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्