बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी पक्राउ परे अस्पतालमा 'बम' राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

यसरी पक्राउ परे अस्पतालमा 'बम' राखेर तीन करोड फिरौती माग्ने व्यक्ति

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे। चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- धादिङका आशिष कुँवर काठमाडौँको नयाँ बानेश्वरस्थित मातृका आँखा अस्पतालमा एक महिनाअघि आँखाको उपचार गरेर फर्किएका थिए। अस्पताल राम्रो सञ्चालन भएको देखेपछि उनी र उनका भाइ अभिषेकले अस्पतालबाट पैसा निकाल्नसक्ने अनुमान लगाए। पैसाको अभाव भइरहेका बेला खर्चको जोहो हुने ठानेर उनीहरूले अस्पतालका चिकित्सकलाई तर्साउँदै फिरौती लिने योजना बनाए। 

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार सोही योजनामुताबिक उनीहरूले यही भदौ २४ गते अस्पतालमा बम राखेको भनी रु तीन करोड फिरौती मागे। चिकित्सकलाई आशिषले बारम्बार फोन गरी अस्पताल र घरमा समेत बम राखी पड्काई अस्पताल र घर परिवारसमेतलाई ध्वस्त पारी दिन्छौँ भनी धम्क्याएका थिए। 

अस्पताल र घर परिवार सुरक्षित राख्ने भए रु तीन करोड तयार गरी नागढुङ्गामा लिइआउनु भनेर तर्साएको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले बताए। पछि उनीहरु रु दुई करोडमा झरेका थिए। उनीहरुले पैसा लिएर आफ्नो व्यक्तिगत खर्च टार्ने योजना बनाएको अनुसन्धानमा खुलेको सिंहले उल्लेख गरे। उनीहरुले विदेश जाने खर्चको जोहो गर्न फिरौती माग गरेको बुझिएको छ। आशिष विदेश जाने तयारीमा समेत रहेको बताइएको छ।

उनीहरुले राखेको बम नेपाली सेनाले यसअघि नै निष्क्रिय बनाएको थियो। यद्यपि त्यो सक्कली हो या नक्कली भनेर सेनाले रिपोर्ट दिइनसकेको सिंहले बताए। 

बम राखेको सूचना प्रहरीमा आएपछि परिसरले प्रहरी उपरीक्षकको नेतृत्वमा टोली परिचालन गरेको थियो। फिरौती रकम दिन तयार भएर प्रहरीले मिसन अपरेसन सुरु गर्‍यो। उनीहरुलाई पक्राउ गर्नु अगाडि नै योजना बनाएको प्रहरीले फिरौती दिन जाने बहानामा दाजुभाइलाई पक्राउ गर्न सफल भएको थियो।

पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई काठमाडौँ बस्ने २५ वर्षका आशिष र उनका भाइ अभिषेक पक्राउ परे। उनीहरुको बयानका आधारमा रोल्पाका ४० वर्षीय अम्मरबहादुर रोक्का पनि पक्राउ परेको प्रहरीले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ। उनीहरुलाई अहिले आपराधिक लाभ (एक्सटर्सन) मुद्दामा म्याद थप गरी थप अनुसन्धान थालेको परिसरले जनाएको छ। 

प्रकाशित: Sep 12, 2021| 22:33 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।