जनता समाजवादी पार्टीका सांसद डा.सुरेन्द्र यादवले आफूलाई मुद्दा फिर्ता लिन साढे ७ घण्टासम्म यातना दिइएको बताएका छन्।
अपहरणमा परेको भनिएका सांसद यादवले सोमबार नेपाल समयसँग कुराकानी गर्दै भने, ‘आइतबार दिउँसो १२ बजेदेखि साँझ साढे सात बजेसम्म मलाई सरकारी वकिलको कार्यालयमा यातना दिइयो। जाहेरी फिर्ता लिन दबाब दिइयो।’
अपहरण प्रकरणमा किटानी जाहेरीका अभियुक्तहरुलाई पक्राउ गरेर बयान लिनुपर्नेमा प्रहरीले आफूसँग बयान लिएकोमा डा.यादवले आक्रोश व्यक्त गरे।
‘अहिलेसम्म उनीहरु किन पक्राउ परेनन् ? उनीहरुको बयान किन भएन ?’ सांसद यादवले भने, ‘मैले सबै कुरा जाहेरीमा उल्लेख गरिसकेको छु। तर पनि मलाई नै किन बयानका लागि पहिले लगियो ?’
आफू र आफ्नो साथी बिहानै सरकारी वकिलको कार्यालय पुगेको तर प्रहरीहरु आउन ढिलाइ गरेपछि आफू संसद् पुगेको उनले बताए।
आफूसँग पुगेका राजीव यादवलाई प्रहरीले नौ घण्टासम्म मानसिक यातना दिएको उनले बताए। ‘म संसदबाट १२ बजे त्यहाँ पुगेको थिएँ। उनीहरुले बयानका क्रममा मेरो वकिललाई पनि भित्र पस्न दिएनन्। मैले वकिल राख्न पाउनुपर्ने कानुनी अधिकार हो। तर, त्यो अधिकारको प्रयोग गर्न पनि दिइएन।’
आफूलाई मानसिक यातना दिइएको उनले दोहोर्याए । ‘मलाई भिडियो देखाइयो, मिडियाको क्लिप देखाइयो र मुद्दा कमजोर पार्ने खालका बयानमा सही गर्न लगाउने प्रयास भयो,’ यादवले भने, ‘मैले भनेका र नभनेका कुराहरु पनि बयानमा समावेश भएको जस्तो लाग्छ।’