बिहीबार, भदौ ४, २०८३

जुट्दै राजावादी : पूर्वराजा पनि सक्रिय

सुरुका केही वर्ष सामान्य घुमघाममा निस्केका पूर्वराजा शाह पछिल्लो एक वर्षयता भ्रमणमा थप सक्रिय भएका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– २०६५ जेठ २९ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले १४ मिनेटको पत्रकार सम्मेलनपछि नारायणहिटी दरबार छोडेका थिए।

त्यसयता उनले औपचारिक पत्रकार सम्मेलन गरेका छैनन्। सुरुका केही वर्ष सामान्य घुमघाममा निस्केका पूर्वराजा शाह पछिल्लो एक वर्षयता भ्रमणमा थप सक्रिय भएका छन्।

गद्दी छाडेको ११ वर्षपछि शाहको सामाजिक र राजनीतिक सक्रियता बढेको देखिन्छ। धार्मिक यात्रा भनिए पनि पूर्वराजा शाह पूर्वी र पश्चिम तराईमा दुई पटक पुगेका छन्।

उनले २०७५ फागुन अन्तिम साता जनकपुरधामलाई मुकाम बनाई साताव्यापी पूर्वी तराईको यात्रा गरेका थिए। २०७६ मंसिर दोस्रो साता भैरहवा मुकाम बनाई एक साता लामो पश्चिम तराई भ्रमण गरे ।

अब पूर्वराजा शाह सुदूरपश्चिम भ्रमणको तयारीमा छन्।

सिक्किमतर्फ जाँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह मेची भन्सार कार्यालय अगाडि । 

धार्मिक स्थल तथा सामाजिक कार्यक्रममा आफ्नो समर्थनमा भीड देख्दा उनी हौसिएका छन्। छिमेकी मुलुक भारतमा कट्टर हिन्दूवादी शासक रहेकाले होला उनी भारत भ्रमणमा पनि गइरहेका छन्।

पश्चिम तराईको भ्रमणपछि पूर्वराजा ज्ञानेन्द्रले झापामा एक महिना बिताए। झापा बसाइकै बीचमा उनी एक दिनका लागि काठमाडौं आएका थिए– नेपाल भ्रमणमा रहेका भारतको केदारनाथ मन्दिरका मुख्य पुजारी जगतगुरु भीमाशंकर लिङ्गसँग भेट गर्न।

त्यसपछि उनले नेपाली भाषी बाहुल्य पूर्वोत्तर भारतको भ्रमण गरे, जहाँ भारतीय नागरिकता कानुनको विरोध भइरहेको थियो।

माघको पहिलो साता पूर्व राजा ज्ञानेेन्द्र शाह र केदारनाथ मन्दिरका मुख्य पुजारी जगतगुरु भीमाशंकर लिङ्ग काठमाडौंमा।

मंसिर दोस्रो साता सिक्किमतिर निस्केका शाह काठमाडौं फर्केपछि फेरि फागुन ४ गते नयाँदिल्ली भ्रमणमा निस्किए। त्यसक्रममा उनी अमृतसरलगायत भारतका अन्य सहरमा पुगे।

उनी भारतमै रहँदा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण भएको थियो। पूर्वराजा शाह केही दिन दिल्लीमै रहेर राजनीतिक भेटघाट गरेको बुझिएको छ।

त्यसअघि उनी पटकपटक थाइल्यान्ड पुगेका थिए।

राजावादीको एकता

पूर्वराजा शाहको सक्रियतासँगै राजावादी पार्टी पनि सक्रिय भएका छन्। कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र पशुपतिशमशेर राणा तथा प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) बीच शनिबार एकता भएको छ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठ पार्टी एकीकरणले राजतन्त्रका पक्षमा थप बल पुग्ने दाबी गर्छन् ।

लामो समयदेखि मिल्दै टुक्रिँदै गरेकोे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र यसका हाँगाहरू राजतन्त्रका लागि अन्तिम लडाइँ भन्दै एकीकृत भएका छन्/ हुने क्रममा छन्।

२०७५ चैत १५ गते देशभरका राजावादी प्रज्ञा प्रतिष्ठानमा भेला भएका थिए। राष्ट्रिय प्रजातन्त्रिक गठबन्धनको नाममा उक्त भेलाले राजतन्त्र फर्काउन सक्रियता बढाउनुपर्ने निर्णय गरेको थियो।

कार्यक्रममा राप्रपा संयुक्त, विश्व हिन्दु महासंघ, शिव सेना नेपाल, मितेरी पार्टीलगायतका नेता–प्रतिनिधि थिए।

२४ फागुनमा पार्टी एकताको दस्तावेजमा हस्ताक्षर गर्दै राप्रपा र राप्रपा (संयुक्त) का नेताहरु ।

राप्रपा र राजतन्त्र

२०४७ सालमा पञ्चायती व्यवस्था अन्त्यपछि पञ्चायतमा लामो समय काम गरेका र दरबार निकटले राप्रपा गठन गरेका थिए।

सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर जबरा, कमल थापा, बुद्धिमान तामाङ, पद्मसुन्दर लावती, रवीन्द्रनाथ शर्मालगायत राप्रपाका संस्थापक हुन्।

पार्टी गठन भएकै दिन चन्द र थापाबीच विवाद भई दुईवटा पार्टी बनेको थियो। पछिल्लो २९ वर्षमा राप्रपा पटकपटक फुट्दै र जुट्दै आएको छ । अहिले फेरि राजतन्त्र पुनस्र्थापनालाई मुख्य एजेन्डा बनाएर पार्टी एकीकरण भएको छ।

राप्रपाका नेता श्रेष्ठ भन्छन्, ‘राजाले एक्लै सक्ने सम्भावना कम भएकाले राजनीतिक दल अगाडि सरेको हो। पार्टी एकताले पराम्परागत शक्तिलाई अगाडि बढाउन सहयोग पुग्नेछ।’

नेपालको राजनीतिक इतिहासमा कुनै न कुनै कालमा एउटा शक्तिलाई निषेध गरिएको दाबी गर्दै श्रेष्ठले भने, ‘पञ्चायतमा कांग्रेसलाई निषेध गरियो। राजाको शासनकालमा दलहरु निषेधित भए, गणतन्त्रपछि राजामाथि नै निषेध भयो। निषेध रहुन्जेल अस्थिरता रहने भयो। त्यसकारण हामी कसैलाई निषेध गर्दैनौं।’


राप्रपाको एकीकरणसँगै अन्य राजावादीहरु समेत एउटै छाता मुनी आउँदा राजतन्त्र पुनर्स्थापनामा प्रमुख भूमिका खेल्ने श्रेष्ठको दाबी छ।

प्रकाशित: Mar 08, 2020| 09:27 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।