काठमाडौं- भारतले नेपाली भूमि लिपुलेक क्षेत्रमा बनाएको सडकबारे परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा बोलाएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर उक्त अतिक्रमणबारे सरकारको औपचारिक धारणा (डिमार्स) दिएको हो।
राजदूत क्वात्रासँग परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिवले कुरा गरेका थिए।
भारतले गत शुक्रबार मानसरोबर जोड्न नेपाली भूमि लिपुलेक हुँदै खनेको सडकको उद्घाटन गरेको थियो। उक्त कदमको नेपालमा तीव्र विरोध भइरहेको छ।
परराष्ट्र मन्त्रालयले यसअघि नै विज्ञप्ति जारी गरी भारतको उक्त कदमको विरोध गरेको छ। नेपालले भारतलाई सीमा समस्या हल गर्नका लागि शिघ्र वार्तामा बस्न पनि आग्रह गरेको छ।
तर भारतले भने यस सम्वन्धी छलफल कोरोनाभाइरसको महामारी सकिएपछि मात्र गर्ने उत्तर दिएको छ।