पूर्वका जिल्लाबाट काभ्रे हुँदै राजधानी प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको भक्तपुरको जगातीमा डिस्न्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
सवारी साधन निःसङ्क्रमण गराउने उद्देश्यले काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले अरनिको राजमार्ग सडकखण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ जगातीमा उक्त टनेल सञ्चालनमा ल्याएको हो ।
काभ्रेबाट भक्तपुर हुँदै काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरसको जोखिम कम गर्न सरकारको स्वीकृतिमा टनेल निर्माण गरेको हो । अरनिको राजमार्ग, बिपी राजमार्गलगायतपूर्वबाट काभ्रे हुँदै आएका चारपाङ्ग्रे सवारी साधनलाई जगाती चेकपोष्टमा राखिएको टनेलमा निःसङ्क्रमण गरेर मात्रै प्रवेश गराउन शुरु गरिएको छ ।
टनेलको सङ्घीय सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले गरेको प्रयासलाई निजी क्षेत्रले पनि पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए ।
लकडाउनको समयमा खाद्यपदार्थ तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसङ्क्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको क्लोरिन झोल राख्नका लागि सोही कम्पनीले पाँच हजार लिटर क्षमताका एक र एक हजार लिटर क्षमताका एक गरी कूल छ हजार लिटर क्षमताका ट्याङ्की राखेको छ । हरेक दिन पानी र क्लोरिन झोल मिलाएर सवारी साधनलाई निःसङ्क्रमण गरिनेछ ।