शनिबार, भदौ ६, २०८३

सांसद ‘अपहरण’ प्रकरण : जनकपुरबाट अनुसन्धान सुरु

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको प्रहरी टोली घटनाको अनुसन्धान गर्न जनकपुर पुगेको छ । पौडेल नेृतत्वको टोलीले आइतबार जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग दुई घण्टा सोधपुछ गरेको छ ।
 |  आइतबार, वैशाख २८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २८, २०७७

जनकपुरधाम– तत्कालीन समाजवादी पार्टी नेपालका सांसद एवं पूर्व स्वास्थ्यमन्त्री डा.सुरेन्द्र यादव ‘अपहरण’ घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

‘अपहरण’मा नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल तथा नेकपाका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ संलग्न रहेको भन्दै डा.यादवले दिएको जाहेरीअनुसार प्रहरीले अनुसन्धान सुरु गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याएको एक दिन नबित्दै डा.यादवको ‘अपहरण’ भएको भन्दै तत्कालीन समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले आरोप लगाउँदै ट्वीट गरेका थिए । पार्टी फुटाउने उद्देश्यले ‘अपहरण’ गर्न काठमाडौंबाट पूर्वआईजीपीसहित नेकपाका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ डा.यादवको गाउँ पुगेको भट्टराईको दाबी थियो ।

तर, यादवको ‘अपहरण’ भएको भनिएको राति समाजवादी र राजपाबीच एकीकरण भई जनता समाजवादी पार्टी गठन भएपछि डा.यादव होटल मेरियटबाट फुत्केर डा.भट्टराईको सम्पर्कमा पुगेका थिए ।

प्रहरी निरीक्षक देवीप्रसाद पौडेल नेतृत्वको प्रहरी टोली घटनाको अनुसन्धान गर्न जनकपुर पुगेको छ । पौडेल नेृतत्वको टोलीले आइतबार जनता समाजवादी पार्टीका नेता शेषनारायण यादवसँग दुई घण्टा सोधपुछ गरेको छ । टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा बोलाएर यादवसँग सोधपुछ गरेको हो ।

डा.यादवले दिएको जाहेरीमा मुख्य साक्षीसमेत रहेका नेता यादवले काठमाडौंबाट आएको टोलीले ‘अपहरण’ घटनाबारे आफूसँग दुई घण्टा सोधपुछ गरेको बताए ।

पूर्वआईजीपीसहितको टोलीले डा.यादवलाई जनकपुरबाट काठमाडौं लग्ने क्रममा उनले सबैभन्दा पहिले बाटोबाट नेता यादवलाई फोन सम्पर्क गरेको बताइएको छ ।

‘उहाँहरुले मलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर दुई घण्टा सोधपुछ गर्नुभएको छ,’ नेता यादवले भने, ‘कसरी ‘अपहरण’ भयो, ‘अपहरण’मा कोको संलग्न थिए लगायतका प्रश्न उहाँहरुले सोध्नुभएको छ ।’

यसअघि अनुसन्धान टोली शनिबार महोत्तरीको सम्सी गाउँपालिका–४ गैढाभेटपुरस्थित डा.यादवको गाउँ पुगेको थियो । टोलीले डा.यादवको गाउँ पुगेर त्यहाँका स्थानीयहरुसँग सोधपुछ गरेको बताइएको छ ।

नेकपाका केन्द्रीय सदस्य सरोज यादवसहित अनुसन्धान टोली गैढाभेटपुर पुगेको डा.यादवको सालोसमेत रहेका उनका स्वकीय सचिव संजय यादवले बताएका छन् ।

‘जनकपुरमा मलाई थाहा भएन, यहाँ गाउँमा उहाँहरु नेकपाका केन्द्रीय सदस्य सरोज यादवलाई लिएर आउनु भएको थियो,’ डा.यादवका स्वकीय सचिव संजयले भने, ‘नेकपाका केन्द्रीय सदस्यलाई बोकेर हिँड्ने टोलीले घटनाको सही अनुसन्धान गर्ला मलाई विश्वास लागेको छैन ।’

‘नेकपाकै दुईजना सांसद आरोपी रहेको घटनाको अनुसन्धान गर्न प्रहरी टोली सोही पार्टीको केन्द्रीय सदस्यलाई लिएर हिँडेपछि कस्तो अनुसन्धान होला अनुमान गर्न सकिन्छ,’ उनले बताए ।

काठमाडौंबाट आएको टोलीले पूर्वआईजीपी, सांसद बस्नेत, श्रेष्ठ र नवीन बस्नेत डा.यादवको घर पुग्दाको अवस्था, त्यहाँको विवरणलगायतका विषयमा सोधपुछ गरेर मुचुल्का उठाउने काम गरिरहेको प्रहरी स्रोतले जनाएको छ ।

मुचुल्कामा घटना भएको समय, मिति, स्थानको विवरणसहित त्यससँग सम्बन्धित विषय समावेश गरिने बताइएको छ । टोलीले काठमाडौं जाँदै गर्दा उनीहरु बसेको तथा खाना खाएको भनिएको बर्दिवासस्थित गौतम होटल पुगेर पनि मुचुल्का उठाउने बुझिएको छ । होटलको सीसीटिभी फुटेजसमेत प्रमाणको रुपमा पेश गरिने जनाइएको छ ।

प्रकाशित: May 10, 2020| 17:22 आइतबार, वैशाख २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।