धनगढी– आफन्त तथा साथीहरुलाई अश्लील भिडियो र फोटोहरु पठाएर एक युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कञ्चनपुर, बेलौरी नगरपालिका–७ का २३ वर्षीय सन्तराम चौधरी छन्।
चौधरीले कैलालीको गौरिगंगा नगरपालिका–९, शंकरपुरकी १९ वर्षीया लक्ष्मी देउवाको फेसबुक आईडीबाट उनका आफन्त र साथीहरुलाई अश्लिल भिडियो पठाएर आत्महत्या गर्न बाध्य पारेको आरोप परिवारले लगाएका छन्।
लक्ष्मीको फेसबुक आइडीबाट अश्लील भिडियो तथा फोटोहरु आफन्तलाई पठाएर पठाई चरित्र हत्या गरेको भन्दै लक्ष्मीले शनिबार धनगढी उपमहानगरपालिका–६ जालीस्थित सुकुटी नालामा झुण्डिएर आत्महत्या गरेको उनको परिवारले जनाएको छ।
परिवारको उजुरीका आधारमा प्रहरीले अनुसन्धानका लागि चौधरीबाट अश्लील भिडियो, फोटो र फेसबुक आईडी लग इन अवस्थामा मोबाइल बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्ष बस्नेतका अनुसार लक्ष्मी धनगढीमा कक्षा १२ मा अध्ययनरत छिन्। लकडाउनको समयमा उनी धनगढीमै आफन्तको घरमा बसिरहेको बेला शनिबार बिहान आत्महत्या गरेकी छन्।
लक्ष्मीको फेसबुक आइडी दुवैको मोबाइलमा चलेको देखिएको र आईडी–पासवर्ड कसरी आदानप्रदान भयो भन्नेबारे अनुसन्धान भैरहेको बस्नेतले बताए।