काठमाडौं- वैशाख महिना लागे यता दिनहु जसो हुँदै आएको वर्षा अझै एक हप्तासम्म कायम रहने भएको छ ।
पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पका कारण अझै एकसाता मेघगर्जनसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमडौं उपत्यका आसपासका क्षेत्र र पश्चिमी क्षेत्रमा अझै बढि वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले नेपाल समयलाई जानकारी दिए ।
उनले भने- 'केहि हप्ता यता हरेक दिनजसो भइरहेको वर्षा अझै केहि दिन जारी रहन्छ । बिहान मौसम सफा जस्तो देखिए पनि दिउसो चट्याङ र हावाहुरी सहित वर्षा हुनेछ ।'
उनका अनुसार यस वर्षको प्री मनसुनमा पछिल्लो केहि वर्ष यताकै सबैभन्दा बढि वर्षा भएको छ । वैशाख महिनामा मात्रै सामान्य अवस्थामा भन्दा ४० प्रतिशत बढि पानी परेको उनले बताए ।
यो वर्ष प्री मनसुनमा तुलानात्मक रुपमा अन्य वर्षमा भन्दा बढि पानी परेपनि यसले मनसुनमा हुने वर्षामा भने कुनै फरक नपार्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको समयमा यो वर्ष अघिल्लो वर्ष जतिकै वर्षा हुने महाशाखाको अनुमान छ ।
यस्तो हुनेछ आगामी तीन दिनको मौसम
वैशाख २८ गते (आईतबार)
दिउँसोः देशको पश्चिमी भु-भाग लगायत मध्य र पुर्वका पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने बाँकि भू-भागमा आंशिक बदली रहनेछ। पश्चिमी भू-भागका केही स्थानहरुमा साथै मध्य र पुर्वका एक दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशको पश्चिमी भु-भागमा सामान्य बदली रहि वांकी भु-भागमा आंशिक बदली रहनेछ। पश्चिमि भु-भागका थोरै स्थानहरु लगायत मध्य र पुर्व १-२ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/ असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
वैशाख २९ गते (सोमबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशको पहाडि भु-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
राति: देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
वैशाख ३० गते (मंगलबार)
दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
राति: देशको पुर्वी भु-भाग लगायत मध्य पहाडि भु-भागमा सामान्य बदली र बांकी भु-भागमा आंशिक बदली रहनेछ।
पूर्वी भू-भागका केही स्थानहरु, मध्य भु-भागका थोरै स्थानहरु र पश्चिमी भु-भागका १-२ स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग/असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।